डोटी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले जोरायल गाउँपालिका वडा नं. ५ को अध्यक्षका लागि डवल ताम्राकार ‘राकेश’लाई सर्वसम्मत उम्मेदवार छनोट गरेको छ । नेकपा माओवादी केन्द्र जोरायल गाउँपालिका इन्चार्ज,गाउँपालिका कमिटीका पदाधिकारीको उपस्थितिमा बसेको वडा कमिटीको बैठकले माओवादी केन्द्रका जोरायल गाउँपालिका सह–इन्चार्ज समेत रहेका ताम्राकारलाई वडा अध्यक्षको उम्मेदवार सिफारिस गरेको हो । त्यसैगरी वडा सदस्यका उम्मेदवारहरुमा योगेन्द्र देउवा,कर्ण बोगटी,लक्ष्मी सार्की र धर्मा देउवालाई सिफरिस गरेको माओवादी केन्द्रले जनाएको छ । वडामा आफ्नो पार्टीले विकास निर्माणका कामहरु गर्दै जनताको मन जितेकाले आफ्नो जित निश्चित रहेको वडा अध्यक्षका उम्मेदवार डवल ताम्राकारले दावी गरे । उनले भने ‘हामीले वडामा जनताको मन जित्ने गरी काम गरेका छौँ,हाम्रो जित निश्चित छ ।’ ‘वडामा हाम्रो पार्टीका सक्रिय सदस्यको संख्या पनि धेरै छ’ उनले भने चुनाव त माओवादीले नै जित्छ । गठबन्धनमा सहमति जुटाउने प्रयास गरिएपनि जोरायल गाउँपालिकामा सहमति जुट्न सकेको छैन ।