कञ्चनपुर उद्योग वाणिज्य सङ्घको १७औँ कार्यकारिणी समितिको निर्वाचनमा युवा व्यवसायी पिताम्बर जोशी अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । सङ्घको आज सम्पन्न मतगणनामा सङ्घका पूर्वअध्यक्षसमेत रहेका अध्यक्षका अर्का प्रत्यासी गणेशदत्त जोशीलाई फराकिलो मतअन्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । निर्वाचित जोशीले एक हजार २९९ मत प्राप्त गर्नुभयो भने पराजित जोशीले ७८३ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल ७५८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी वासुदेव जोशीले ४८८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी महासचिव पदमा निर्मला सापकोटा भट्टलाई पराजित गर्दै खगेश्वर बोहरा निर्वाचित हुनुभएको छ । महासचिव पदमा बोहराले एक हजार २०१ मत पाए भने अर्का प्रत्यासी भट्टले ८०० मत प्राप्त गर्नुभएको छ । शनिबार भएको मतदानमा दुई हजार १८४ मत खसेको वाणिज्य सङ्घ कञ्चनपुरले जनाएको छ । यसअघि सङ्घको वरिष्ठ उपाध्यक्षमा पिताम्बर जोशी प्यानलका दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट, कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका थिए । त्यसैगरी सङ्घको सात सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन् ।