काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले नेपाली कांग्रेसको एकल नेतृत्व स्वीकार गरेर गठबन्धन हुन नसक्ने बताएका छन् ।
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ, तर स्थिर सरकार हुनुपर्ने भन्दै पाँच वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने शर्त राखेको छ । प्रतिक्रिया दिँदै माओवादी स्थायी समिति सदस्य पोखरेलले कांग्रेसको निर्णय र अरु दलको धारणाका आधारमा पार्टीले संस्थागत निर्णय लिने बताए ।
यद्यपि आजको मितिसम्म आफूहरु गठबन्धनको पक्षमा रहेको भन्दै पोखरेलले भने, ‘हामीलाई टेकेर कांग्रेस पहिलो पार्टी बन्ने, पावर शेयरिङ चाहिँ नहुने स्वीकार्य छैन ।’
पोखरेलको भनाइ उनकै शब्दमा
मुलभूत रुपमा हामी यो गठबन्धनकै पक्षमा छौं । कांग्रेसले के निर्णय गर्छ, अरु दलहरु कसरी अगाडि आउँछन् भन्ने हेरेर संस्थागत रुपमा बैठक बसेर हाम्रो निर्णय आउँछ ।
तर पछिल्लो केन्द्रीय समितिको बैठकमा गठबन्धनबारे तीन खालको धारणा आएको छ ।
पहिलो, आफ्नै खुट्टामा उभिनुपर्छ ।
दोस्रो, वामपन्थी दलरुसँग मिलेर चुनाव लड्नुपर्छ ।
तेस्रो, कांग्रेससँग गठबन्धन गर्ने हो भने पनि स्थानीय तहको चुनावमा हाम्रा गढहरुमा अरु दलसँग मिलेर हामीलाई हराउने प्रयास भएको छ । त्यसको समीक्षा हुनुपर्छ ।
यो मतसँगै कांग्रेसको निर्णय र अरु दलहरुको धारणा आएर हामी निर्णयमा पुग्छौं । तर हामीलाई टेकेर कांग्रेस पहिलो पार्टी बन्ने, पावर शेयरिङ चाहिँ नहुने स्वीकार्य छैन । कांग्रेसको एकल नेतृत्व सम्भव छैन ।