सबै तहका निर्वाचनमा चासोपूर्वक हेरिने काठमाण्डू उपत्यका भित्रका तीनवटै जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलकासहित उल्लेख्य सङ्ख्यामा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
उनीहरूले आफ्नो पक्षमा मत तान्नका लागि विभिन्न माध्यमबाट व्यापक प्रचारप्रसार गरिहरेका छन्।
निर्वाचन आयोगका अनुसार उपत्यकाका तीनवटा जिल्लामा साढे तीन सयभन्दा बढी उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्दैछन्। यद्यपि प्रतिस्पर्धामा रहेकाहरूको अनुपात हेर्दा महिलाको सङ्ख्या तुलनात्मक रूपमा कम देखिएको आयोगको विवरणले देखाउँछ।
कुन जिल्लामा कति उम्मेदवार?
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार उपत्यकाभित्र काठमाण्डू जिल्लामा सबैभन्दा धेरै उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्दैँछन्। कुल १० वटा निर्वाचन क्षेत्र रहेको काठमाण्डूमा विभिन्न दल र स्वतन्त्रतर्फ गरी २५७ जना उम्मेदवार छन्। त्यसमध्ये ५४ जना मात्र महिला छन्।
त्यस्तै तीनवटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा कुल ६३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा ९ जना महिला छन्।
भूगोलका हिसाबले पनि सानो जिल्ला भक्तपुरमा भने दुईवटा मात्र निर्वाचन क्षेत्र छन्। त्यहाँ कुल ४० उम्मेदवार रहेकामा ७ जना महिला छन्।
निर्वाचन आयोगका अनुसार तुलनात्मक रूपमा अन्यत्रभन्दा काठमाण्डूमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी देखिएको छ। काठमाण्डू जिल्लामा मात्र एक सय जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
पछिल्ला स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह विजयी भएपछि त्यसको प्रभावका रूपमा काठमाण्डूमा स्वतन्त्र उम्मेदवार धेरै भएको हुनसक्ने कतिपयको बुझाइ छ।
यद्यपि पहिले दलगत राजनीतिमा सक्रिय रहेका केहीले पनि आफ्नो दलभित्र विवाद तथा विभाजन देखापरेपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। कतिपय क्षेत्रमा आफ्नो दलले टिकट नदिएपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र रूपमा उम्मेदवार बन्ने पनि रहेका छन्।
काठमाण्डूको प्रतिस्पर्धा
निर्वाचन आयोगका अनुसार काठमाण्डू क्षेत्र नम्बर १ मा विभिन्न दलका तर्फबाट २१ जना र स्वतन्त्र ११ जना गरी कुल ३२ जनाले उम्मेदवारी दिएका छन्। उक्त क्षेत्रमा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उठेका छन् भने विपक्षी नेकपा एमालेका तर्फबाट किरण पौडेल उम्मेदवार छन्। पटकपटक त्यस क्षेत्रबाट चुनाव जित्दै आएका सिंहलाई साझा पार्टीबाट राजनीति सुरु गरेका र हाल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा रहेका पूर्व पत्रकार रविन्द्र मिश्रले चुनौति दिँदैछन्। अघिल्लो संसदीय निर्वाचनमा पनि मिश्र सिंहका निकटतम प्रतिद्वन्द्वी रहेका थिए।
उक्त क्षेत्रबाट विकेशील नेपाली दलबाट राजनीति सुरु गरेका पुकार बमले अर्का पूर्व सञ्चारकर्मी रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्।
सोही क्षेत्रबाट एकजना चर्चित पूर्व प्रहरी अधिकारी रमेशप्रसाद खरेलले आफैँले खोलेको नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका छन्। त्यसबाहेक स्थानीय तह निर्वाचनका बेलादेखि स्वतन्त्र उम्मेदवारीको अभियान चलाउँदै आएकाहरूले पनि उक्त क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्दैछन्।
काठमाण्डू क्षेत्र नम्बर २ मा सत्ताधारी गठबन्धनले माओवादी नेतृ ओनसरी घर्तीलाई उम्मेदार बनाएको छ भने विपक्षी एमालेले मणिराम फुयाललाई उठाएको छ। उक्त क्षेत्रमा विभिन्न राजनीतिक दलका २० र स्वतन्त्र १० गरी ३० जनाले प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दैछन्। त्यस क्षेत्रमा राप्रपाबाट कुन्ती पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमले चुनावी प्रतिस्पर्धा गर्दैछन्।
काठमाण्डू क्षेत्र नम्बर ३ मा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसे उठेका छन्। त्यहाँ एमालेका कृष्णबहादुर राई प्रतिस्पर्धी छन् भने उक्त क्षेत्रमा विभिन्न राजनीतिक दलका १५ जना र स्वतन्त्र ८ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्।
काठमाण्डू क्षेत्र नम्बर ४ मा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा उठेका छन्। उक्त क्षेत्रमा अघिल्लो चुनावमा पनि उनका प्रतिस्पर्धी रहेका नेकपा एमालेका नेता राजन भट्टराई चुनावी मैदानमा छन्। सोही क्षेत्रबाट राप्रपाले सशस्त्र प्रहरी बलका पूर्व प्रमुख ठाकुरमोहन श्रेष्ठलाई उठाएको छ।
काठमाण्डू क्षेत्र नम्बर ४ मा विभिन्न राजनीतिक दलका तर्फबाट कुल १७ जना र स्वतन्त्र १४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। पन्ध्र जना दलीय र १४ जना स्वतन्त्र उम्मेदवार रहेको काठमण्डू क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ। उनको एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसँग प्रतिस्पर्धा हुँदैछ।
उक्त क्षेत्रबाटै २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरपालिकाको मेयर पदमा विवेकशील पार्टीबाट उम्मेदवार बनेर चर्चा पाएकी रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दैछिन्।
काठमाण्डू क्षेत्र नम्बर ६ मा १३ जना दलीय र ११ जना स्वतन्त्र उम्मेदवार छन्। त्यस क्षेत्रमा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भिमसेनदास प्रधान उठेका छन् भने एमालेले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ।
काठमाण्डू क्षेत्र नम्बर ७ बाट दलीयभन्दा स्वतन्त्र उम्मेदवार बढी उठेका छन्। उक्त क्षेत्रमा १३ जना दलीय उम्मेदवार रहेकामा १६ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। उक्त क्षेत्रबाट सत्ता गठबन्धनका तर्फबाट नेकपमा माओवादी केन्द्रको चुनाव चिह्नमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पुत्री अस्मिता सिंह (मानुषी) यमी भट्टराई उम्मेदवार बनेकी छन्।
उक्त क्षेत्रबाट सत्ता साझेदार रहेको तर चुनावको मुखमा प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गर्न पुगेको जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्रप्रसाद श्रेष्ठ चुनावी मैदानमा छन् भने एमालेले श्यामकुमार घिमिरेलाई उठाएको छ। आफूले टिकट नपाएपछि एमालेसँग असन्तुष्ट बनेर उक्त दलका नेता रामवीर मानन्धरले पनि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।
काठमाण्डू क्षेत्र नम्बर ८ मा १६ जना दलीय र तीन जना स्वतन्त्र उम्मेदवार उठेका छन्। उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ चुनावी मैदानमा छन् भने नेकपा एमालेका शिवसुन्दर राजवैद्य उठेका छन्। सोही क्षेत्रबाट गत स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बनेर चर्चा पाएका सुमन सायमी हाम्रो नेपाली पार्टीका उम्मेदवार बनेका छन्।
काठमाण्डू क्षेत्र नम्बर ९ मा १२ जना दलीय र १० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। उक्त क्षेत्रबाट सत्ता गठबन्धनले माओवादीको चुनाव चिह्नमा कल्पना धमलालाई उठाएको छ भने एमालेका नेता कृष्णगोपाल श्रेष्ठ पनि सोही क्षेत्रबाट प्रतिस्पर्धामा छन्। त्यस्तै विवेकशील अभियान नेपालबाट राजनीतिक गतिविधि सुरु गरेका तथा विवेकशील नेपाली दलका पूर्व प्रमुख एवम् विवेकशील साझा पार्टीका संयोजक रहिसकेका मिलन पाण्डे पनि चुनावी मैदानमा छन्। उनी साझा पार्टी नेपालबाट उम्मेदवार बनेका हुन्।
काठमाण्डू क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनका कांग्रेस र माओवादी दुवै दलका उम्मेदवार मैदानमा छन्। कांग्रेसका राजेन्द्रकुमार केसी उम्मेदवार रहेको उक्त क्षेत्रमा एमालेका हिमेश केसी र माओवादीकी अञ्जना विशंखे मैदानमा छन्।
ललितपुर र भक्तपुरका प्रतिस्पर्धा
ललितपुरको क्षेत्र नम्बर १ मा १३ जना दलीय र ७ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन्। उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उदयशम्शेर जबरा उम्मेदवार छन् भने एमालेका तर्फबाट नवराज सिलवाल उठेका छन्।
ललितपुर क्षेत्र नम्बर २ बाट १४ दलीय र ८ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। उक्त क्षेत्रबाट सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनलाई उठाएको छ भने एमालेले प्रेमबहादुर महर्जनलाई उठाएको छ।
ललितपुर क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट माओवादीकी पम्फा भुसाल मैदानमा छिन् भने एमालेले अमृत खड्कालाई उठाएको छ। त्यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की पनि चुनावी मैदानमा छिन्। उनले लाभको पद लिएकाले उम्मेदवार बन्न नमिल्ने निर्वाचन आयोगले निर्णय गरेपछि सर्वोच्च अदालतले उनको उम्मेदवारी कायमै राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
भक्तपुर क्षेत्र नम्बर १ मा १० जना दलीय र चार जना स्वतन्त्र उम्मेदवार रहेका छन्। परम्परागत रूपमा नेपाल मजदुर किसान पार्टीको प्रभाव क्षेत्रमा रहेको उक्त क्षेत्रमा त्यस दलबाट प्रेम सुवाल उम्मेदवार छन्। सत्ता गठबन्धनले भने माओवादीका सुनिल गोठेलाई उठाएको छ भने एमालेले नवराज गेलाललाई आफ्नो उम्मेदवार बनाएको छ।
भक्तपुर क्षेत्र नम्बर २ मा चाहिँ १५ जना राजनीतिक दलका तर्फबाट र ११ जना स्वतन्त्र उम्मेदवार उठेका छन्। त्यहाँ एमालेका नेता महेश बस्नेत चुनावी मैदानमा छन् भने सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका दुर्लभ थापमा उठेका छन्।
‘काठमाण्डूको परिणाम अनुमान गर्न सकिँदैन’
कतिपयले काठमाण्डूको चुनावी नतिजाले देशको चित्र दिने दाबी गर्ने गर्छन्। तर त्यो सत्य नभएको विश्लेषण छ- एकजना राजनीतिशास्त्री कृष्ण हाछेथुको। उनी भन्छन्, “यहाँको चुनावी नतिजा आकलन गर्न सकिँदैन। यो बसाइ सरेर आउनेहरूको सहर भएर पनि होला नतिजा के आउँछ भन्न सकिँदैन।” उनले उपत्यकामा प्राय: दलीय उम्मेदवारहरूले नै जित्ने गरेको देखिएको बताए।
उपत्यकाभित्र स्वतन्त्र उम्मेदवारहरूको सङ्ख्या धेरै देखिए पनि अहिले पनि दलीय उम्मेदवारहरूले नै चुनाव जित्नसक्ने उनको आकलन छ। उनी ‘राजनीतिक दल तथा तिनका नेताप्रति उच्च वितृष्णा’ देखिए पनि स्वतन्त्रबारे समेत कुराहरू ‘बढाइ-चढाइ’ भइरहेको ठान्छन्।
यद्यपि अर्की राजनीतिशास्त्रकी प्राध्यापक मीना वैद्य मल्ल चाहिँ स्वतन्त्र उम्मेदवारको चर्चा धेरैतिर हुनुलाई ‘परिवर्तनको मोड’को रूपमा हेर्छिन्। उनी स्वतन्त्र उम्मेदवार बढ्नुलाई “दलको विकल्प छ” भन्ने सन्देश पनि दिएको रूपमा लिनुपर्ने बताउँछिन्।