धनगढी :- पाल्पा क्षेत्र नं १ (१) मा नेकपा (एमाले)का राजुप्रसाद श्रेष्ठ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार उहाँले पाँच हजार तीन सय ९० मतान्तरले जितलाई आफ्नो पक्षमा पार्नुभएको थियो ।
श्रेष्ठले क्षेत्र नं १ प्रदेश (१) भित्रका १९ वडाबाट खसेको ३१ हजार दुई सय ११ मतमध्ये १७ हजार छ सय ४२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार दुई सय ५२ मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा सदस्यमा मङ्गोल नेशनल अर्गनाइजेशनका पूर्णबहादुर रुचालले दुई सय ६० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले चार सय ३१ मत र राष्ट्रिय जनमुक्ति पार्टीका भिमसेन सुनारीले ८० मत ल्याउनुभएको छ । कूल मतमध्ये पाँच सय ४६ मत बदर भएको निर्वाचन अधिकृत गोपादप्रसाद ढकालले जानकारी दिनुभयो ।
क्षेत्र नं १ (१) अन्तर्गत निस्दी र पूर्वखोला गाउँपालिकाको वडा नं १ र ३, रामपुर नगरपालिका क्षेत्र पर्दछन् । क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकामा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको छ ।
को हुन नवनिर्वाचित श्रेष्ठ
विसं २०२३ मा पाल्पाको रामपुर नगरपालिका–५ बेझाडमा जन्मनुभएका श्रेष्ठ ०३६ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रामतुलसी माविको एकाइ सचिवको जिम्मेवारीमा रहँदै राजनितिमा प्रवेश गर्नुभएको थियो । उहाँ ०३६ एमालेको पार्टी सदस्य र ०४६ मा सङ्गठित सदस्यता लिएर श्रेष्ठले एमाले पाल्पाको विभिन्न पदमा रहेर समेत काम गर्नुभएको थियो ।
दलहरु प्रतिबन्धित रहेको समयमा रामपुर गाउँ कमिटीमा आबद्ध भएर ०४६ को जनआन्दोलनमा सक्रिय रहनुभएको थियो । त्यस समयपछि इलाका कमिटी सचिव, क्षेत्रिय कमिटी सदस्य हुँदै जिल्ला कमिटी दुई कार्यकाल सदस्य बन्नुभएको थियो । श्रेष्ठ अहिले एमाले लुम्बिनी प्रदेशको सचिवालय सदस्य पदमा रहनुभएको छ ।
उहाँ ०५४ को स्थानीय चुनावमा तत्कालीन रामपुर गाविस वडा नं ४ को वडाध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएर कामसमेत गर्नुभयो । सङ्घीयता कार्यान्वयनमा आएसँगै ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा रामपुर नगर प्रमुख पदमा पराजित हुनुभएको थियो ।