बैतडीमा एमालेका भण्डारी विजयी

धनगढी :- बैतडीबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का दामोदर भण्डारी विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नरेन्द्र कुँवरलाई एक हजार पाँच सय ३१ मतान्तरले पराजित गर्नुभएको हो ।

भण्डारीले ३३ हजार छ सय ११ मत ल्याउँदा कुँवरले ३२ हजार ९० मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा ७७ हजार चार सय ६० मत खसेकामा चार हजार नौ सय ६२ मत बदर भएका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो ।

भण्डारी योसहित तेस्रो पटक विजयी हुनुभएको हो । यसअघि उहाँ २०७० र २०७४ सालको निर्वाचनमा विजयी हुनुभएको थियो । भण्डारी एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत हुनुहुन्छ ।

यसैबीच प्रदेशसभा (१) मा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई एक हजार आठ सय १३ मतले पछि पार्दै पाल विजयी हुनुभएको हो । पालले १२ हजार आठ ३१ तथा भण्डारीले ११ हजार १८ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका वीरबहादुर बिष्टले १० हजार नौ सय ५३ मत ल्याउनुभयो ।

प्रदेशसभा (२) मा कांग्रेसका शिवराज भट्ट विजयी हुनुभयो । उहाँले एमालेका लिलाधर भट्टलाई चार सय ३७ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । कांग्रेसका भट्टले १७ हजार एक सय ५३ तथा एमालेका भट्टले १६ हजार सातसय १६ मत प्राप्त गर्नुभयो । जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार चार सय १६ जनाले मतदान गरेका थिए ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply