बैतडीमा १५ जना उम्मेदवारको धरौटी जफत

धनगढी –मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा बैतडीमा १५ जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदमा उम्मेदवार बनेका १५ जनाको धरौटी जफत भएको हो ।

सदर मतको १० प्रतिशत मत नल्याएर धरौटी जफत हुने प्रावधान अनुसार १५ जनाको धरौटी जफत भएको हो । उनीहरुले कुल सदर मतको १० प्रतिशत ल्याउन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका ९ जना र प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका ६ जनाको धरौटी जफत भएको हो ।

बैतडीमा प्रतिनिधि सभा सदस्य तर्फ ७७ हजार ४६० मत खसेकोमा ७२ हजार ४९८ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत भएको हो । प्रतिनिधि सभा तर्फ स्वतन्त्र उम्मेदवार केशवबहादुर चन्द, राप्रपाका देवबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट, स्वतन्त्र उम्मेदवार मानसिंह बिष्ट, स्वतन्त्र उम्मेदवार त्रिलोकबहादुर चन्द, राप्रपा नेपालका हिक्मतबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालका आनसिंह भण्डारी, नेश्नलिष्ट पिपल्स पार्टीका कृष्णबहादुर चन्द र नेपाल मजदुर किसान पार्टीका कृष्णप्रसाद गोसाईको धरौटी जफत भएको हो ।

यस्तै प्रदेश सभा १ मा प्रदेश सभा सदस्यका तीन जना उम्मेदवारको धरौटी जफत भएको छ । एकीकृत समाजवादीका नरेन्द्र बिष्ट, राप्रपाका रणबहादुर बिष्ट र राप्रपा नेपालका कृष्णा पन्तको धरौटी जफत भएको हो । उनीहरुले सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा धरौटी जफत भएको हो । प्रदेश सभा १ मा ४० हजार १५५ मत खसेकोमा ३८ हजार १४२ मत सदर भएको थियो ।

यस्तै प्रदेश सभा २ मा पनि तीन जना उम्मेदवारको धरौटी जफत भएको छ । राप्रपाका नारायणदत्त जोशी, राप्रपा नेपालका प्रेमबहादुर चन्द र नागरिक उन्मुक्ति पार्टीका रेबती बोहराको धरौटी जफत भएको हो । प्रदेश सभा २ मा ३७ हजार २८० मत खसेकोमा ३५ हजार ४६० मत सदर भएको थियो । सदर मतको १० प्रतिशत ल्याउन नसक्ने उम्मेदवारको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply