५० बन्धककाे बदलामा १ सय ५० प्यालेस्टाइनी कैदी रिहा हुनेछन् – हमास

इजरायल र हमास समूहबीच बन्धक रिहा गर्ने सम्बन्धमा भएकाे सम्झाैताबारे दुवै पक्षले आधिकारिक वक्तव्य जारी गरेका छन् । इजरायलले हमाससँग इजरायली बन्धकहरूका सम्बन्धमा सम्झौता भएको र अक्टोबर ७ देखि हमासको हिरासतमा रहेका ५० इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएकाे घोषणा गरेको थियो । बदलामा चार दिनको अस्थायी युद्धविराम हुने इजरायलले बताएकाे थियाे ।

अब यो सम्झौताको सन्दर्भमा हमासले पनि विज्ञप्ति जारी गर्दै ५० इजरायली बन्धकको बदलामा इजरायली जेलमा रहेका १ सय ५० प्यालेस्टाइनी महिला र बालबालिकालाई रिहा गरिने सहमति भएकाे जनाएको छ । सम्झौताअन्तर्गत मानवीय सहायता, अत्यावश्यक औषधि र इन्धनले भरिएका सयौँ ट्रक गाजामा प्रवेश पाउने हमासकाे भनाइ छ ।

हमासको विज्ञप्तिमा भनिएको छ, ‘इजरायलले चार दिने युद्धविरामको अवधिमा कुनै पनि आक्रमण नगर्ने वा कसैलाई पनि गिरफ्तार गर्ने छैन ।’ चार दिनको अस्थायी युद्धविरामको अवधिमा दक्षिणी गाजामा हवाई यातायात पूर्ण रूपमा बन्द हुनेछ र उत्तरी गाजामा पनि प्रत्येक दिन छ घण्टा स्थानीय समय अनुसार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बन्द हुनेछ ।

इजरायलले गाजाको हवाई क्षेत्रलाई नियन्त्रण गर्छ । अक्टोबर ७ मा इजरायलमा आक्रमण गरी हमास समूहले २ सय ४० इजरायलीलाई बन्धक बनाएको थियो । तीमध्ये हालसम्म चार जना मात्रै बन्धक रिहा भएका छन् ।

यसअघि इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले बन्धक बनाएका ५० जना इजरायली नागरिकलाई चार दिनभित्र रिहा गरिने र यस अवधिमा युद्ध अस्थायी रूपमा रोकिने जनाएको थियाे । इजरायलको मन्त्रिपरिषद्ले यो सम्झौतालाई अनुमोदन गरेपछि प्रधानमन्त्री कार्यालयले यस सम्बन्धमा आधिकारिक विज्ञप्ति जारी गरेको हाे ।

इजरायलको प्रधानमन्त्रीको कार्यालयले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ । सरकारले आज यो उद्देश्य हासिल गर्न पहिलो चरणको रूपरेखा स्वीकृत गरेको छ, जसअनुसार चार दिनभित्र महिला र बालबालिकासहित ५० बन्धकहरूलाई रिहा गरिने छ, त्यस क्रममा लडाइँ रोकिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply