गठ्ठाघर दुर्घटना: प्रहरीको आन्तरिक टोलीले बुझायो प्रतिवेदन

धनगढी भदौ ५
भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार व्यक्तिको मृत्यु भएपछि प्रहरीले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक प्रजित केसीको नेतृत्वमा बनेको छानबिन समितिले प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनले दुर्घटना कसरी भयो भन्नेबारे केलाएको छ।

गत बिहीबार दिउँसो गठ्ठाघर चोकनजिकै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो।

यस समितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन कार्की, प्रहरी निरीक्षक रितोश राय र सई गोपाल तामाङ थिए। उक्त टोलीले घटनास्थलको सिसिटिभी फुटेज केलाएको हो।

त्यस्तै ना ६ ख २१७३ को ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर २ घर भएका ट्रक चालक ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ।

उनी हाल प्रहरी वृत्त थिमीको हिरासतमा छन्। ट्रक चालक श्रेष्ठले पनि सडकमा स्कुटरलाई नै नदेखेको बयान दिएका छन्। बायाँ चक्काले किचिसकेपछि मात्रै आफूले चाल पाएको भनेर प्रहरीसमक्ष बयान दिएका हुन्।

यस्तै उक्त ट्रकको पछाडि एउटा गाडी गुडिरहेको पनि छानबिन टोलीले देखेको थियो। छानबिनको टोलीले उक्त गाडीका चालकलाई पनि फेला पारी घटनाबारे बयान लिएको एसपी केसीले बताए।

‘सिसिटिभी फुटेज हेर्दा ट्रकको पछाडि एउटा सामान बोक्ने गाडी देखेका थियौं। हामीले त्यस गाडीका चालकसँग सोधेका छौं,’ उनले भने, ‘ट्रक र त्यो गाडी नजिकै थियो। ट्रकको एक पट्टीको भागले स्कुटरको पछाडि अलिकति छोएको छ। त्यसपछि अनियन्त्रित भएर बायाँ मोडिन खोजेको देखिन्छ।’

सिसिटिभी फुटेज प्रष्ट गर्नका लागि प्रहरीले ठूलो स्क्रिनमा राखेर फुटेज केलाएको थियो।

प्रदेश ३-०१- ०२३ च ४३८९ नम्बरको गाडी चालक मदन भण्डारीसँग पनि प्रहरीले घटनास्थलसम्बन्धी कुराहरू सोधेको थियो। उनीसँगको कुराकानी पनि प्रतिवेदनमा उल्लेख भएको छ।

‘हामीलाई एक दिनको समयमात्रै दिइएको थियो। तर त्यो चालकको भनाइ नराखी नबुझाऔं भनेर हामीले खोजेर कुराकानी गरेका हौं,’ एसपी केसीले भने।

भण्डारीले प्रहरीलाई दिएको बयानअनुसार ट्रकले स्कुटरलाई छोएपछि स्कुटर अनियन्त्रित भएर बायाँ मोडिएर लडेको र ट्रकले किचेको देखेका थिए।

यही घटनाको छानबिन गर्न भक्तपुरका सहायक जिल्ला अधिकारी डाेरेन्द्र निराैलाकाे नेतृत्व ४ सदस्यीय छानबिन समिति बनेकाे थियो। निराैला नेतृत्वकाे समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल ईन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकर्मी तुलसी हरि काेइराला सदस्य छन्।

यो समितिलाई एक साताको समय दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply