यस्ता छन् नवनियुक्त प्रधानसेनापति सिग्देलका प्राथमिकता

खेम राज भट्ट
नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले आफ्ना आगामी योजनाका केही बुँदा सार्वजनिक गरेका छन् । आफ्नो तीनवर्षे कार्यकालमा गरिने मुख्य काम उनले सार्वजनिक गरेका हुन् ।

कार्ययोजनामा नेपालको संविधानद्वारा प्रदत्त जिम्मेवारी, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य रहने उल्लेख छ । राष्ट्रमा आइपर्ने जटिल समस्याहरुको समाधान गर्न राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति भएको र, नेपालको संविधान, नेपाली सेना मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोच-२०८७ लगायतलाई आधारमानेर सेनाको सङ्गठन सुदृढीकरण गर्दै लाने उनले भावी योजनामा उल्लेख गरेका छन् ।

राष्ट्रिय सुरक्षा, साङ्गठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवा विस्तार जस्ता महत्वपूर्ण क्षेत्रहरुलाई प्राथमिकतामा राख्दै सात (७) वटा लक्ष्यहरु समावेश गरी ‘प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन-२०८१’ जारी गर्ने तयारी छ ।

राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय संयन्त्रहरुको क्षमता सुदृढीकरणमार्फत समग्र राष्ट्रिय सोचमा आधारित विश्वसनीय र प्रभावकारी रणनीतिको आवश्यकता रहेको हुँदा देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राज्यका सबै संयन्त्रहरुको साझा बुझाइ र समान धारणा विकास होस् भन्ने हेतुले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्धारित समयमानै सञ्चालनमा ल्याउने योजनामा उल्लेख गरिएको छ ।

विद्यार्थीहरुको व्यक्तित्व विकासका साथै अनुशासित र बफादार युवा जनशक्ति उत्पादनलाई टेवा पु¥याउने हेतुले राष्ट्रिय सेवा दलको क्षमतालाई अझ परिष्कृत गर्दै लगिने, सेना र नागरिकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउनको लागि शिक्षा, स्वास्थ्य, कला संस्कृति र परम्पराको संरक्षण गर्न, पर्यावरण जोगाउन तथा राज्यका सम्पदाहरुको सुरक्षामा योगदान पुऱ्याउन सैनिक मर्यादालाई ख्याल राख्दै योजना तर्जुमा गरी कार्यान्वयन गरिने प्रधानसेनापति सिग्देलले उल्लेख गरेका छन् ।

राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखी देशको परराष्ट्र नीतिलाई टेवा पुऱ्याउन सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउंदै लगिने, सबै भन्दामाथि संस्था रहेको हुँदा सबैलाई खुशी बनाउने भन्दा पनि समग्र संस्थाको हितको लागि कार्य गर्न, सहि नियतले काम गर्न नडराउन तर, कसैले व्यक्तिगत आकांक्षा, कुण्ठा र सस्तो लोकप्रियताको लागि संस्थागत भाइचारा र आपसी विश्वासमा कमी ल्याउने तथा संस्थाको तेजोवध गर्ने प्रकृतिका कार्यहरु गरेको पाइएमा क्षम्य नहुने । साथै, पहिलो र अन्तिम तथा एकमात्र मूलमन्त्र भनेको ‘सैनिक अनुशासन र सैनिक मर्यादा’ रहेको उनको भनाइ छ ।

ऐतिहासिक अनुभवलाई समेत आत्मसात गर्दै भूगोल सुहाउँदो सैनिक ज्ञान, सिप र युद्धकला क्षमता वृद्धिको लागि सैनिक तालिम एवं शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन समय सापेक्ष सुधार गर्ने, शान्ति सैनिकको तालिम तथा बन्दोबस्ती सामग्रीहरुको व्यवस्थापनमा विशेष पहल गर्नेदेखि सेनाले राष्ट्रिय खेलकुद विकासमा महत्वपूर्ण योगदान दिदैं आइरहेकोमा खेलकुद विकासलाई प्राथमिकतामा राख्ने भावी योजना रहेको छ । ‘नेपाल सरकार र नेपाली सेनाको प्राथमिकतामा रहेको बङ्कर टु ब्यारेक योजना, लत्ताकपडा प्राप्ति एवं उत्पादनलगायतका कार्यहरुलाई व्यवस्थित गर्दै लाने, काठमाडौं-तराई/मधेस द्रुतमार्ग लगायत अन्य सडक करिडोरहरुको निर्माण कार्यमा कुनै पनि प्रकारको ढिला सुस्ती, अनभिज्ञता, अनियमिततालगायतका क्रियाकलापहरु अस्वीकार्य हुनेछन्’- योजनामा भनिएको छ ।

सेनाको कल्याणकारी कोषको दिगोपना र कोषबाट सञ्चालित कार्यहरुलाई कार्यदल गठन गरी प्राप्त राय सुझावको आधारमा थप प्रभावकारी बनाउने, कक्षा ४ देखि १२ सम्म अध्ययनरत नेपाली सेनाको वहालवाला तथा अवकासप्राप्त सकलदर्जाको एक सन्ततीलाई प्रदान गरिदै आएको छात्रवृत्ति रकममा ५ हजार रुपैयाँ थप गरी वार्षिक २५ हजार रुपैयाँ पुऱ्याउने तयारी छ । पारिवारिक निवृत्तिभरणमा रहेका सबै एकल महिलाहरुलाई प्रदान गरिदैं आएको कल्याणकारी निवृत्तिभरणमा मासिक पाँच सय रुपैयाँका दरले थप गर्ने, नेपालमा विपद्का कारण हुने धनजनको क्षतिलाई मध्येनजर गरी नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता विस्तार र तयारीपनको स्तर अभिवृद्धि गर्दै लाने उनले योजना बनाएका छन् ।

सरकारबाट घोषित जटिल प्रकृतिका रोग लागेका हिताधिकारीहरुलाई बहिरङ्ग उपचारको वार्षिक सीमा पुनरावलोकन गरिनेछ भने विगत द्वन्द्वमा घाइते भएका सकलदर्जालाई सैनिक अस्पतालमा हुने उपचार रकमको सीमा हटाउने, अवकाशपछि पनि आत्मसम्मानका साथ जीविकोपार्जन गर्न सक्षम बनाउने उद्देश्यका लागि नेपाल सरकारका अन्य निकायसँग समन्वय र साझेदारी गरी विज्ञसहितको टोलीबाट थप क्षेत्रहरु पहिचान गर्दै व्यवसायिक र सिपमूलक तालिमलाई विस्तार गर्ने, तहगत रुपमा तैनाथ कमाण्डरहरुद्वारा आ-आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग सैनिक मर्यादा भित्र रही समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने र आगामी दिनमा राष्ट्रिय लक्ष्यहरु प्राप्त गर्न नेपाली सेना र सञ्चारमाध्यमबीचको सम्बन्धलाई थप सुमधुर बनाउंदै लगिने प्रधानसेनापति सिग्देलले योजना बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply