कर्णाली प्रदेशको मुगु जिल्ला साक्षर जिल्ला घोषणा

धनगढी असोज १०
कर्णाली प्रदेशको मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएको छ। चार वटै स्थानीय तह साक्षर घोषणा भएपछि सोमबार मुगुलाई ‘पूर्णसाक्षर जिल्ला’ घोषणा गरिएको हो।

साविक कर्णाली अञ्चलका चार जिल्लामध्ये मुगु पहिलो पूर्ण साक्षर जिल्ला बनेको छ। देशको ६५ औं साक्षर जिल्ला भएको छ। मुगुले साक्षर घोषित हुनु आवश्यक १२ वटा सूचकमध्ये ६ वटा पूरा गरेको छ। यहाँ १५ देखि ५९ वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको तथ्यांक छ।

‘बहुभाषिक शिक्षाको प्रवर्द्धन, पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने सन्देशका साथ मुगुलाई साक्षर घोषणा गरिएको हो।

छायानाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले स्थानीय तहहरू साक्षर बन्न सफल भएकाले जिल्लालाई पूर्ण साक्षर घोषणा गर्न सकिएको बताए। जिल्ला साक्षर घोषणा भए पनि समग्र सामाजिक विकासका लागि थुप्रै काम गर्न बाँकी रहेको उनले बताए।

तीन वटै तहका सरकारको समन्वयात्मक भूमिकामा मात्र समग्र सामाजिक विकास हुन सक्ने उनको भनाइ छ।

सामाजिक विकास कार्यालय, मुगुका प्रमुख टोपबहादुर बुढाले जिल्ला साक्षर घोषणा हुनुलाई औपचारिकतामा सीमित हुन नदिने बताए।

उनका अनुसार जिल्लामा साक्षरता अभियान चलाउँदा सामना गर्नुपरेका चुनौतीहरूले आगामी दिनमा साक्षरता निरन्तर राख्न सजिलो छैन भन्ने देखाएका छन्।

उनी भन्छन्, ‘साक्षरताका कार्यक्रमलाई कसरी निरन्तरता दिने भन्नेमा हाम्रो ध्यान छ। साक्षरतासँगै औपचारिक शिक्षाको क्षेत्र कसरी सुधार गर्ने भन्ने चुनौती छ। हामी अघि बढ्ने प्रयासमा छौं।’

मुगुलाई २०७८ सालभित्रै साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको भए पनि तीन वर्षपछि मात्र लक्ष्य पूरा हुन सक्यो। कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये साविक कर्णालीका पाँच वटा जिल्ला पहिले नै साक्षर घोषणा गरिएका थिए।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमा बाँकी रहेका मुगु, जुम्ला, कालीकोट, डोल्पा, हुम्लालाई पनि साक्षर बनाएर सिंगो प्रदेशलाई साक्षर घोषणा गर्ने कार्यक्रम समावेश गरेको थियो।

उक्त आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले तीन वर्षभित्रै सबै जिल्ला साक्षर घोषणा गरिसक्ने लक्ष्य राखेको थियो तर अझै पूरा भएको छैन।

कर्णाली प्रदेशका कालीकोट, जुम्ला, डोल्पा र हुम्ला जिल्ला पूर्ण साक्षर हुन बाँकी छन्। कालीकोट, जुम्ला र हुम्ला सम्भवतः चालु आर्थिक वर्षभित्रमा साक्षर घोषणा हुनेछन्।

‘गत वर्ष नै सबै जिल्लालाई साक्षर घोषणा गर्ने लक्ष्य थियो तर हामीसँग आवश्यक बजेट भएन,’ शिक्षा विकास तथा समन्वय इकाइ कालीकोटका प्रमुख प्रकाशचन्द्र धितालले भने, ‘यो वर्षको मंसिर–पुसभित्र साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेका छौं। त्यसका लागि बजेट पनि आइसकेको छ।’

उनका अनुसार कालीकोटका ९ वटा स्थानीय तहमध्ये पाँच वटा साक्षर घोषणा भइसकेका छन्। बाँकी चार वटा स्थानीय तह पनि साक्षर भएपछि जिल्लालाई पनि पूर्ण साक्षर घोषणा गरिनेछ।

कालीकोटका शुभकालिका गाउँपालिका, नरहरिनाथ गाउँपालिका, महावै गाउँपालिका र पलाता गाउँपालिका साक्षर घोषणा भइसकेका छन्।

अब तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका र सन्नीत्रिवेणी गाउँपालिका बाँकी छन्।

यी स्थानीय तह पनि आगामी मंसिरभरिमा घोषणा भइसक्ने गरी कार्यक्रम अघि बढाइएको धितालले बताए।

जुम्लालाई पनि अबको दुई तीन महिनामा साक्षर जिल्ला घोषणा गर्ने गरी काम भइरहेको सामाजिक विकास कार्यालय, जुम्लाका प्रमुख तुलाराज चौलागाईंले बताए।

उनका अनुसार जुम्लाका आठ वटामध्ये तीन वटा स्थानीय तह साक्षर घोषणा हुन बाँकी छन्।

हिमा गाउँपालिका, सिँजा गाउँपालिका, कनकानुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिका साक्षर घोषणा भइसकेका छन्। तिला गाउँपालिका, गुठीचौर गाउँपालिका र तातोपानी गाउँपालिका बाँकी छन्।

यी तीन वटा स्थानीय तह एक महिनाभित्र साक्षर घोषणा भइसक्ने चौलागाईंको भनाइ छ। यीमध्ये दुई वटाले असोजभित्रै साक्षर घोषणा गर्ने तयारी गरेका छन्।

हुम्ला पनि यसै वर्षभित्र साक्षर घोषणा हुने सम्भावना रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख योगेश आलेमगरले बताए।

उनले भने, ‘एउटा मात्र पालिका (स्थानीय तह) साक्षर घोषणा हुन बाँकी छ, त्यो पनि मंसिरमा हुन्छ होला। त्यसलगत्तै जिल्लालाई पूर्ण साक्षर घोषणा गर्न सकिन्छ।’

आलेमगरका अनुसार हुम्लाका सात वटामध्ये नाम्खा गाउँपालिका मात्र साक्षर घोषणा हुन बाँकी छ। अन्य स्थानीय तह साक्षर घोषणा भइसकेका छन्।

डोल्पा पूर्ण साक्षर जिल्ला हुन अझै धेरै समय लाग्ने भएको छ। सामाजिक विकास कार्यालय, डोल्पाका प्रमुख धनबहादुर शाहीका अनुसार साक्षर हुनुपर्नेमध्ये आधाभन्दा बढी मानिस बाँकी छन्।

उनी भन्छन्, ‘साक्षर घोषणा हुन ९५ प्रतिशतभन्दा माथि साक्षरता दर हुनुपर्छ। डोल्पामा अझै आधा बाँकी रहेको देखिन्छ।’

डोल्पाका आठ वटामध्ये पाँच वटा स्थानीय तह साक्षर घोषणा भएका छन्। बाँकी तीन वटा कहिलेसम्ममा साक्षर हुनसक्छन् भन्ने टुंगो छैन।

२०७८ सालको जनगणनाको तथ्यांक अनुसार साक्षर घोषणा हुन बाँकी रहेका छार्काताङसोङ गाउँपालिकामा ४६ प्रतिशत, शेफोक्सुण्डो गाउँपालिकामा ४५ प्रतिशत र डोल्पोबुद्ध गाउँपालिकामा ४५ प्रतिशत साक्षरता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply