पक्राउ पुर्जी जारी भएपछि रविको आक्रोश- सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

२ कात्तिक धनगढी
सहकारी ठगी प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आक्रोश व्यक्त गरेका छन् ।

पक्राउ पुर्जी जारी भएपछि शुक्रबार सामाजिक सञ्जालमा लेख्दै रविले सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई बिचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ?,’ रविले लेखेका छन्, ‘तपाईं प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नुपर्ने ?’ रविले नेताहरूले ८७ अर्ब अपचलन गरेको र आफूलाई सहकारी ठगीको आरोप लगाएको पनि लेखेका छन् ।

रविले भाटभटेनीको इस्यु मोड्न आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको दाबी पनि गरेका छन् । त्यस्तै भ्रष्टाचारी समाउन आफूले प्रधानमन्त्रीको अफर लत्याएको दाबीसमेत उनले गरेका छन् ।

‘प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन । तर म कहिले भागेर हिँडिन र हिँड्दिन पनि । ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभयो । बाचा स्वरूप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नुभएको थियो । यो मलाई राम्रोसँग थाहा छ,’ रविले भनेका छन्, ‘तपाईंको मन्त्रिमण्डल त्यसको साक्षात् प्रमाण हो। तपाईंहरूका दलका नेता र कार्यकर्ता प्रमाणित सहाराकी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् । तपाईहरू तिनलाई जोगाउन लागिपर्नु भएको छ । अब तपाईहरु बाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं ।’

उनले नेताहरूको दिनगन्ती शुरू भएको भन्दै कानूनलाई सघाउने पनि बताएका छन् ।

‘ठीक छ,म तपाईंहरूको दिनगन्ती शुरू भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्धता व्यक्त गर्दछु । नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्ने छ । शुरूआत तिमीहरूले गर्‍यौं, अन्त्य हामी गर्नेछौं, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्,’ रविले भनेका छन्, ‘अहिलेलाई, सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो । तर मलाई न्यायालयप्रति आशा र न्याय प्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले कसैलाई ठगेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply