६ पुस धनगढीः
पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिवान समूहको संलग्नता रहेको पाकिस्तानी तालिवान समूहले पुष्टि गरेको छ । तालिवानको पाकिस्तानी शाखाले एक विज्ञप्ति जारी गर्दै ‘आफ्ना वरिष्ठ कमान्डरहरूको हत्याको बदलामा’ आक्रमण गरिएको दाबी गरेको हो ।
उक्त समूहले मेशिनगन र नाइट भिजन डिभाइसलगायत सैन्य सामग्रीको भण्डार पनि जफत गरेको दाबी गरेको छ । पाकिस्तानी सेनाले यस घटनाबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
अफगानिस्तानमा सन् २०२१ मा तालिबान सत्तामा फर्किएदेखि नै पाकिस्तानले आफ्नो पश्चिमी सीमावर्ती क्षेत्रमा चरमपन्थी हिंसाको पुनरुत्थानसँग जुधिरहेको छ । इस्लामाबादले काबुलका शासकहरूले सीमा पारबाट पाकिस्तानमाथि आक्रमण गर्ने लडाकूहरूलाई निर्मुल पार्न असफल भएको आरोप लगाएको छ ।
तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी)का नामले चिनिने पाकिस्तानी तालिवानको तीन वर्षअघि सत्तामा फर्केका अफगानी समकक्षीसँग वैचारिक समानता छ ।
काबुलका नयाँ शासकहरूले अफगानिस्तानको भूमिबाट विदेशी लडाकू समूहलाई हटाउने प्रतिबद्धता जनाएका छन् । तर जुलाईमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को एक प्रतिवेदनले त्यहाँ करिब छ हजार ५०० टीटीपी लडाकू रहेको अनुमान गरेको थियो । अफगानी तालिबान समूहले टीटीपीलाई आतङ्कवादी समूहको रूपमा स्वीकार गर्दैन ।
आक्रमणका घटनाले इस्लामाबाद र काबुलबीचको सम्बन्धमा तिक्तता ल्याएको छ । गत वर्ष पाकिस्तानले लाखौँ गैरकानुनी अफगानी आप्रवासीलाई देश निकाला गर्ने अभियान चलाउनुको एउटा कारण सुरक्षालाई पनि मानिएको थियो । यसअघि, पाकिस्तानी गुप्तचर अधिकारीहरूले तालिवान समूहले शनिबार अफगानिस्तानसँग सीमा जोडिएको एक सैनिक चौकीमा रातभर गरेको आक्रमणमा परी १६ सैनिकको मृत्यु हुनुका साथै अन्य पाँच जना गम्भीर घाइते भएको बताएका थिए ।
एएफपीले जनाएअनुसार मध्यरातपछि करिब ३० जना लडाकूले पहाडी चौकीमा तीनतिरबाट आक्रमण गरेका थिए ।आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । लडाकूहरूले सुरक्षा जाँच चौकीमा रहेका वायरलेस सञ्चार उपकरण, कागजात र अन्य सामानहरूमा आगो लगाएका छन् ।