बाघ पासोमा पार्ने २० वर्षीय युवकविरुद्ध मुद्दा दायर गर्ने तयारी

७ पुस धनगढीः
चितवन राष्ट्रिय निकुञ्जको एउटा बाघ पासोमा पार्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मी डाँडा भन्ने ठाउँबाट सोहीस्थानका २० वर्षीय अमृत न्यौपाने पक्राउ परेका हुन् ।

गत कात्तिक २ गते निकुञ्ज कार्यालयका कर्मचारीहरू र नयाँ गोरख गणको बगुवन सुरक्षा पोष्टका नेपाली सेनाको संयुक्त गस्ती टोलीले उनको साथबाट वन्यजन्तुलाई सिकार गर्न प्रयोग भएको सवारी साधनमा प्रयोग हुने ब्रेकको तार थान १, केवल लाइनमा प्रयोग हुने तार थान १ र रौं अल्झेको जस्तो देखिने तार थान १ फेला पारेको थियो ।

उनी पक्राउ परेपछि बरामद भएको तार सहितको अल्झिएको रौंहरुको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण गराउँदा उक्त रौं पाटेबाघको भएको पाइएको र रौंको प्रकृति, भौतिक मापन नतिजा समेतको आधारमा उक्त तार पासो हुन सक्ने, अत्यधिक संघर्षबाट तारमा रौंको उपस्थितिसँगै सो रौं शरीरको माथिल्लो र तल्लो घाँटी जस्ता भागको हुने सम्भावना बढी रहेको भनी विवरण प्राप्त भएको निकुञ्ज कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै केन्द्रीय अनुसन्धान ब्युरोबाट न्यौपानेले प्रयोग गरेको मोबाइलको कल डिटेल सहितको डिजिटल परीक्षण गरी पठाउँदा उक्त मोबाइलबाट पासोमा परेको बाघको फोटो समेत प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ। प्रतिवादी अमृत न्यौपानेले समेत कात्तिक २ गते आफूहरूले पासो थापेको ठाउँमा पासोमा बाघ परेको देखेको र रुखमाथि चढेर सोही समयमा उक्त बाघको फोटो आफ्नै मोबाइलबाट खिचेको स्वीकार गरेको निकुञ्जले जनाएको छ ।

सोहीअनुसार न्यौपानेलाई प्रतिवादी बनाई संरक्षित वन्यजन्तु बाघ मार्ने उद्योग मुद्दामा जिल्ला अदालतमा मुद्दा दायर गर्न लागिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply