पोइन्ट टु बी नोटेड!

वीरेन्द्र बस्नेत
धनगढी,२३ माघ
पछिल्लो १७ वर्षदेखि हामी संविधानको समाजवादी परिकल्पनालाई साकार पार्ने जिम्मेवारी बहन गर्दैछौं।

संघर्षको स्वरूप मात्रै होइन, मैदान पनि बदलिएको छ। तर कहिलेकाहीँ लाग्छ, हाम्रा राजनीतिक नेतृत्वको शैली बदलिएको छैन, सोच बदलिएको छैन।

यो परीक्षणको कसीमा कहिलेकाहीँ म आफैलाई पनि राखेर हेर्छु। किन मैले आन्दोलन गरिरहेको देशको यो सुदूरपूर्वमा मैले रोजेको राजनीतिक दल फस्टाउन सकेको छैन?

मैले निष्कर्ष निकालेँ — सायद हामीले चाहेजति अवसर पाउन सकेनौं। सायद हामीले हाम्रो क्षेत्रलाई चाहिने जति समय दिन सकेनौं।

अर्को पनि कारण छ — पश्चिमबाटै झुल्किएको आन्दोलन भएरै होला माओवादी आन्दोलन आजसम्म पश्चिममै फस्टायो। यसमा नेतृत्व, संघर्ष, आवश्यकता र अवसरले नै मुख्य भूमिका खेल्यो।

यही निष्कर्ष मैले गत माघ १५ गते तेह्रथुममा पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा सुनाएँ। उहाँसँग यहाँको अवस्था, सम्भावना र आवश्यकताबारे कुरा गरेँ।

अध्यक्ष प्रचण्डले भन्नुभयो — पोइन्ट टु बी नोटेड!

नेपालको राजनीतिक र सामाजिक परिवेशमा दोस्रो जनआन्दोलनपछि धेरै परिवर्तनहरू आएका छन्। तर यी परिवर्तनहरूलाई हामीले आत्मसात गर्न सकेका छैनौं, संस्थागत गर्न सकेका छैनौं। हिजोको जनयुद्ध वर्गसंघर्षको स्वरूपमा थियो, जसमा संगठन स्वरूप सेना र दुरदराजका बस्तीहरू आधार इलाका थिए। जनयुद्धको जगमा जनआन्दोलन भयो, गणतन्त्र आयो, युद्ध सकियो, शान्ति सम्झौता भयो, समाजवाद उन्मुख संविधान बन्यो, परिस्थिति बदलियो तर संघर्ष सकिएको छैन। बरू समयले फरक स्वरूपको संघर्षको माग गरेको छ।

युद्धको ठाउँ चुनावले लिएपछि, बन्दुक ब्यालेटमा परिणत भएपछि, जनस्तरमा संगठन झाँगिन जरूरी छ। हाम्रो कमजोरी यहीँ भयो। तर कमजोरी भयो भनेर अब फेरि मेहनत नगरी बस्ने छुट हामीलाई छैन। त्यसैले हाम्रो पार्टीलाई नयाँ ऊर्जा दिन पूर्वबाट हामी फेरि जाग्नुपर्छ।

जहाँ संघर्ष हुन्छ, त्यहाँ नेतृत्वको आवश्यकता, क्षमताको विकास र अवसर पनि त्यहीँ हुन्छ। यसलाई हामीले गरेको १० वर्षको सशस्त्र संघर्षले सफलतापूर्वक पुष्टि पनि गरेको छ। त्यो क्रममा थुप्रै कमान्डरहरू युद्धको नेतृत्व गर्न पश्चिमबाट पूर्व आउनुभयो, बिस्तारै पूर्व पनि उठ्दै गयो। क्रान्तिको कार्यभार पूरा गर्ने क्रममा पूर्वले पनि बलिदान र संघर्षमा कुनै कसर बाँकी राखेन, इतिहास साक्षी छ।

तर खासगरी पुँजीवादको विकास समाजवादी चेतना र जनसंख्याको हिसाबले काठमाडौं पछि कोशी अबको क्रान्तिको केन्द्र हो। अन्य पार्टीहरूले पनि यो कुरा बुझेका छन्। उनीहरूको मेहनत पूर्वमा, विशेषगरी कोशी प्रदेशमा भरपुर छ। हामी भने यो बुझाइमा कता कता अलमलिएको जस्तै भएका छौं। कतिपय अवस्थामा हामीले प्राप्त गरेको उपलब्धि पनि जोगाउन सकेका छैनौं।

पहिलो संविधान सभामा देशव्यापी रूपमा सबैतिरबाट जनमत प्राप्त भयो। यो एउटा अवसर थियो। यसमा पूर्व र सिंगो नेपालले नै उपलब्धिमा बदल्न सकिएन।

तर अब हामीसँग धेरै समय छैन, हामीलाई पूर्वको उर्वर भूमिमा फैलिन अहिले सबभन्दा उपयुक्त समय पनि हो। संशोधनवादका विरूद्ध उसकै अखडामा धावा नबोली हुँदैन भन्ने आन्दोलनको नियम नै हो। यसका निम्ति हामीले नेपाली कम्युनिस्ट आन्दोलनको समीक्षा गरेर अहिलेसम्म प्राप्त अनुभवसहित अनुभववादमा नफसी नवीन सोच योजना र नेतृत्व विकासको प्रश्न सम्बोधन गर्नुपर्छ। यो सम्बोधन पूर्वबाटै सुरू गर्नुपर्छ, कोशीबाटै सुरू गर्नुपर्छ।

यसलाई हाम्रो पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले केही हदसम्म मनन गरेको अनुभूति उहाँको बाक्लिएको पूर्व आगमनबाट भएको छ। यसले हामी यही क्षेत्रलाई राजनीति गर्ने नेता-कार्यकर्ताहरूमा एक किसिमको मनोवैज्ञानिक उत्साह पनि थपेको छ। यही उत्साहले नै पछिल्लो उपचुनावमा माओवादी केन्द्र कोशीमा पहिलो पार्टी बन्न सम्भव भयो।

झापाको गौरीगन्ज, मोरङको ग्रामथान र तेह्रथुममा अध्यक्षको आगमन एउटा उत्सवका रूपमा रह्यो। यसले हिजो युद्ध सुरू गर्दा गाउँबाट घेरा हालेर सहर कब्जा गर्नुपर्छ भन्ने युद्धकालीन रणनीतिलाई समयसँगै परिमार्जन गर्नुपर्ने रहेछ भन्ने बुझाइमा हामीलाई उभ्याउन मद्दत पुगेको छ। खासगरी आज सहरहरू र पूर्व नै हाम्रो नयाँ मैदान हो भन्ने निचोडमा हामीलाई पुर्‍याएको छ।

भूगोलको नेतृत्व त्यहीको माटो अनुकूलको हुनुपर्छ भन्ने पुष्टि यसअघि धेरैपटक भइसकेका छन्। पूर्वमा नेता त चाहिन्छ तर पश्चिमबाट गएर नेतृत्व सम्हाल्छु भन्दा हाम्रो पार्टीले चुनावी मैदानमा पटक पटक असफलता बेहोरेको छ। चुनावी मोर्चाले यो कुरा स्वीकार गरेन। नेतृत्व जहाँ जान्छ, केन्द्र त्यहीँ बन्दैन। सत्यतः जहाँ केन्द्र हो, त्यहीँ नेतृत्व जन्मिन्छ। त्यही नेतृत्वले नै संविधानले सम्बोधन गरेका हाम्रा अधिकार स्थापित गर्न सघाउ पुर्‍याउँछ।

कानुन बनाउने यो चरणमा परिवर्तनकारी शक्ति थोरै कमजोर हुँदा यथास्थितिवादी पुराना शक्तिहरू संविधानको उपलब्धिलाई पछाडि फर्काउने षड्यन्त्रमा छन्। त्यसैले परिवर्तनकारी शक्तिको उपस्थिति सदनमा जबरजस्त रूपमा हुन जरूरी छ। सदनलाई बलियो बनाउन सडक बलियो हुनुपर्छ। सडक र सदन दुवैलाई बलियो बनाउन जनता अपरिहार्य तागत हो। त्यसैले अबको जनवादी क्रान्तिको केन्द्र सहर र खासगरी पूर्व क्षेत्र नै हो।

२०६२/०६३ को जनआन्दोलनपछि आएको बदलावपछि पहिलो संविधान सभाले कार्यनीतिमा ठूलो सिफ्टको संकेत झापाको बिर्तामोडमा भएको सभामा गरेको देखिन्छ। यसलाई बेलैमा बुझ्न नसक्नु एउटा कमजोरी थियो। इतिहासको एउटा कठोर चक्रपछि २०८१ को स्थानीय तहको उपनिर्वाचनले फेरि उही संकेत गरेको देखिन्छ।

यो मौका हामीले गुमाउन हुँदैन। पूर्वलाई जुरूक्क उचाल्न पूर्वले नै अवसर पाउनुपर्छ, नेतृत्वले ध्यान दिनुपर्छ, हामीले मेहनत गर्नुपर्छ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply