एनएसएल खेल्न अमेरिकाबाट नेपाल आएका प्रवीण

फागुन २१ धनगढी
तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि अमेरिकामा खेलिरहेका नेपाली भाषी प्रवीण बस्नेत नेपाल आएका छन्।

उनलाई झापा एफसीले यो सिजनका लागि आबद्ध गरेको महासचिव सुजन गौतमले जानकारी दिए।

अमेरिकामा रहेको नेपाली भाषी भुटानी क्लब सांग्रिला फुटबल क्लबसँगको सम्झौतामा २५ वर्षीय प्रवीणलाई झापामा एफसीमा आबद्ध गरेको गौतमले जानकारी दिए।

प्रवीण अमेरिकाको ओहायोमा बस्दै आएका छन्। अमेरिका रहदा उनले सांग्रिलाबाट खेलिरहेका थिए। झापाको शरणार्थी शिविरमा बस्दादेखि नै झापाको फुटबलसँग नजिक रहेका व्यक्तिहरूमार्फत् प्रवीण क्लबमा आबद्ध भएका हुन्।

महासचिव गौतमले फरवार्ड प्रवीणसँग सम्झौता गर्दा टोली बलियो हुने विश्वास गरेका छन्।

गत शनिबार नेपाल आइपुगेका प्रवीण अहिले झापाको बन्द प्रशिक्षणमा सामेल भइरहेका छन्। उनले एनएसएलअघि काँकडभिट्टामा मेचीनगर गोल्डकप खेलेर नेपाली फुटबल पछिल्लो माहोल बुझ्नेछन्।

झापामा बसेपछि उनी अर्को महिना दशरथ रंगशालामा हुने एनएसएल खेल्न काठमाडौं आउनेछन्।

प्रवीणले एनएसएल खेल्ने भएपछि सांग्रिला फुटबल क्लब उत्हासित भएको छ। अमेरिकाबाट सञ्चालन हुने नेपाली अनलाइन समाज टाइम्ससँग कुरा गर्दै सांग्रिला क्लबका अध्यक्षले सोनाम लामाले भनेका छन्, ‘हामीले ब्रेक थ्रु गर्‍यौ। सांग्रिला फुटबल एकेडेमी र झापा एफसीबीच साझेदारी गर्दै जाने भन्ने भएको छ, त्यसै अनुसार हामीले प्रवीणलाई पठाएका हौं।’

प्रवीणले पनि व्यावसायिक फुटबल खेल्ने आफ्नो सपना पूरा भएको बताएका छन्। उनले आफू जन्मेको र हुर्केको स्थानमा फुटबल खेल्न पाउँदा उत्साहित भएको समेत बताए।

सांग्रिला फुटबल क्लबका प्रशिक्षक किरण थापाले अमेरिकामा निरन्तर खेलिरहेको बताँउदै आफूले सिकाएका खेलाडीले नेपालमा खेल्ने साइत जुरेकोमा खुसी व्यक्त गरेका छन्।

प्रवीणले नेपालमा व्यवसायिक फुटबल खेल्न लागेको यो पहिलो पटक भने होइन। यसअघि उनले नेपाली भाषी भुटानी क्लबबाट पोखरामा आहा रारा पोखरा गोल्डकप खेलेका थिए।

नेपालमा जन्मिएका प्रवीण सन् २०१२ मा अमेरिका पुगेका थिए। त्यहाँ उनले हाइ स्कुल, विश्वविद्यालय र नेपाली भाषीको क्लब स्तरको फुटबल खेलेका छन्। उनले ओहायोको डेकाटर डेकाल्ब युवा फुटबल क्लब डीडीवाइएसीमा ४ वर्ष खेलेका थिए।

उनले इन्ट्रा कप, पीस जोन,बीएपीसी, एनएसी लगायतका समुदाय स्तरको प्रतियोगिताको उपाधि समेत जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply