महिला, पृथ्वीको एक मात्र स्त्री जाति, जसका वरिपरि अनेक बन्धन छन्

फागुन २४ धनगढी
हुनत पृथ्वीमा आँखाले देख्न नसक्ने जीवहरू नै पनि कति छन् कति । तर, हामी कुनै जीव वा वस्तुलाई निकै सानोको उपमा दिनुपर्‍यो भने कमिलाको उदाहरण दिन्छौँ–‘स्यानु.. यित्रु.. कमिला जस्त्रो…।

हुन पनि हामी भन्दा कमिला निकै साना हुन्छन् । हाम्रो पइतालामुनि मात्रै पनि सायौँ कमिला अट्न सक्नछन् ।

हामी उनीहरू भन्दा बडेमानका र शक्तिशाली पक्कै छौँ । ज्ञान, वुद्धि तथा दिमागी शक्तिमा त हामी संसारकै सर्वश्रेष्ठ भइहाल्यौँ ।

तर के हामीले यो विचार गरेका छौँ, आकारमा हामी भन्दा निकै साना, हाम्रो नजरमा मूल्यहीन ती कमिलाको समुदायभित्र मान्छेमा जस्तो लैंगिक विभेद छैन ।

पोथी कमिला भएकै कारण, कसैलाई केही नगर्न त्यहाँ बाध्य पारिँदैन । भाले कमिलाले जे गरिरहेका हुन्छन्, त्यही गर्नका लागि उनीहरूको समुदायमा पोथी कमिलालाई बन्देज छैन ।

कहाँ जाने–नजाने, के गर्ने–नगर्ने, अनुहार तथा शरीर कति देखाउने कति ढाकेर हिँड्ने ?

त्यसको पनि कुनै मापदण्ड छैन, जसरी मान्छेको समुदायमा मापदण्ड छ ।
के भाले के पोथी निर्वाधरुपमा डुलिरहेका हुन्छन् उनीहरू, जति समयसम्म जीवित रहन्छन् ।

उनीहरूको समुदायमा अनेक कहानी, किस्सा प्रचलनमा छैनन् । धर्म, संस्कार, परम्परा आदिका बन्देजहरू छैनन् । स्त्री जातिलाई आफ्नो कब्जामा राख्न कुनै नियम, तर्कहरू उब्जिएकै छैनन् ।

उनीहरू अझै त्यही दुनियाँमा छन्, जसरी प्रकृतिले समान रुपमा धर्तीमा जन्म दिएको छ ।

कमिला मात्रै किन पृथ्वीका सबैभन्दा ठूला जीव हात्ती होस् वा ब्ल्यु ह्वेल । यी कुनैका समूहभित्र स्त्री जातिमाथि छुट्टै बन्देजहरू छन् भनेर अहिलेसम्म कुनै अध्ययताले पत्ता लगाएको छैन । देखिएको पनि छैन ।

कुनै चरा–चुरुङ्गी वा सरीसृप जीवका जातिमा पनि भाले र पोथीका लागि छुट्टै नियम भएको हामी पाउँदैनौँ ।

मान्छेसँग बढी गुण मिल्ने मानिएको जनावर बादरमै हेरौँ न ।

जंगलतिर सुन्दरी(स्त्री बाँदर)हरू एक रुखबाट अर्को रुखमा फालहान्दै रमाइरहेका हुन्छन् ।

त्यहाँ कुनै ‘भाले बाँदर’ आएर कस्ती उत्ताउली भन्दैन । कसैले घुरेर हेर्दै आँखा तर्दैन । यसलाई बाबुआमा वा लोग्नेले लह लगाउन सकेनछ भन्दै कुरा काट्दै हिँड्दैन । उनीहरूको समुदायमा जो जसरी रमाओस् बालै छैन ।

मकैबारीमा छिर्न होस कि केराघारीमा, पुरुष बाँदरको समूहले स्त्री बाँदरहरूलाई तिमीहरू यहाँ छिर त्यहाँ नछिर, यता जाऊ उता नजाऊ भन्दै भन्दैनन् ।
अनि हामी मान्छेको समुदायमा ! एकपटका सोचौँ त ?

मान्छेसँग जीव–जनावरको व्यवहार, गतिविधिलाई दाँजेर हुन्छ ? यो प्रश्न सबैका मनमा पक्कै आउँछ ।

हुँदैन, विल्कुल हुँदैन ।

जीव–जनावर र मान्छेमा आकाश–जमिनकै फरक छ ।

केही सेकेन्ड मात्रै घोरिएर सोच्दा पनि हामी दशौँ भिन्नता औल्याउन सक्छौँ । तर, कुनै पनि जीव–जनावरले लिङ्गका आधारमा विभेदकारी बन्धनहरू खडा गरेका छैनन् । हामी मान्छेको समुदायभित्र मात्रै किन छ ? यो सोचनीय विषय हो नि ।

महिलाका लागि अनेक बन्धन खडा गर्ने प्रचलन कहाँबाट सुरु भयो कसरी सुरुभयो यसको ठ्याक्कै उत्तर पक्कै भेटिँदैन । विज्ञान, प्रविधि, आधुनिकता जुन क्षेत्रमा जति नै प्रगति भएपनि हामीले महिलाहरूलाई स्वतन्त्र, खुल्ला, बिना संकोच विचरण गर्न दिइरहेका छैनौँ, जसरी पुरुषहरूले पाइरहेका छन्।

अझै पनि यस धर्तीका कयौँ महिला खुल्ला आकाशमुनि निर्धक्क अनुहार देखाएर हिँड्न पाइरहेका छैनन् । पुरुषहरूजस्तै पाठ्यशालामा पढ्न र रंगशालामा खेल हेर्न नपाउने महिलाको संख्या पनि ठूलो छ ।

उनीहरूका लागि कतै जाने, कसैसँग बोल्ने, खाने र लगाउनदेखि हरेकबुज्रुक समुदायमा एउटा भ्रम के छ भने–समाजमा चेतनास्तर कम भएर, ज्ञान नभएर यस्तो भइरहेको छ ।

केही हदसम्म यसलाई मान्न सकिन्छ तर धेरै हदसम्म यो खारेजयोग्य तर्क हो ।

सुविधासपन्न शहरकै, आफूलाई खान्दानी ठान्ने, शिक्षित मानिएका परिवारभित्रै महिला विभेदका अनेक उमुस–मुकुस भेटिन्छन् । अलिकति नियालेर हेर्‍यौँ भने यो छर्लङ्गै हुन्छ ।

मुख्य समस्या यो हो कि, हामीहरू महिलालाई पनि पुरुषलाई जत्तिकै स्वतन्त्रा दिने कुरामा सहमत हुनै सकिरहेका हुँदैन । सहमत भइहाल्यौँ भने पनि परिवार, समाज, धर्म वा संस्कार जस्ता घेराले जबरजस्ती पछाडि धलेलिरहेको हुन्छ । कुरामा दृश्य–अदृश्य रुपमा घेराबारा छ, जुन पुरुषका लागि हुँदैन ।
मान्छेले जस्तो स्त्री जातिमाथि विभेद गर्ने इतिहास र वर्तमान पृथ्वीका अन्य कुनै जीवमा छैन, यो चाहिँ हामीले स्वीकानुपर्छ ।

हामी आफूलाई सबैभन्दा विवेकशील र वुद्धिमानी प्राणी ठान्छौँ । अनि विवेकहीन मानिएका साना कमिला र भुसुनाको समुदायमा पनि नभएको स्त्री जाति माथिका अनेक बन्धन मान्छेको समुदायमा किन छ ?

हामी व्यापक बाठो छौँ, दिमाग हाम्रो सबै प्राणीको भन्दा तेज छ तर हामी उतिसारो विवेकी प्राणी चाहिँ होइनौ कि ? साभार अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply