चैत १० धनगढी
लालीगुराँसले अहिले पहाडी क्षेत्रको वनपाखा राताम्मे भएका छन्। काठमाडौं उपत्यकाका वनपाखा तथा देशका पहाडी क्षेत्रमा विभिन्न प्रजातिका रंगीविरंगी लालीगुराँसले वनपाखासँगै गाउँबस्ती नै झिलिमिली बनाएको छ।
गोरखा जिल्लाको धार्चे गाउँपालिकाको गुप्सिपाखा क्षेत्रमा फुलेको लालीगुराँसले हरियो जंगललाई सुन्दरता बढाएको छ।
जसका कारण सो क्षेत्रमा पर्यटकहरुको आर्कषण बढ्न थालेको छ।
राता रङका लागिगुराँस र गुलावी, सेता र पहेंला लगायत प्रजातिका गुराँस यहाँ पाइन्छ। जिल्लाकै दुर्गम र उत्तरी भेगमा पर्ने यस क्षेत्रमा लालीगुराँस र हरियाली पहाडले पर्यटक तान्नुका साथै यस क्षेत्रलाई शोभनीय पनि बनाएको छ।
वनस्पतिविद्हरूका अनुसार लालीगुराँस समुद्री सतहबाट १ हजार ३ सयदेखि ४ हजार ६ सय मिटर उचाइमा पाइन्छ। यद्यपि चैत पहिलो सातादेखि फुल्ने यो फूल जलवायु परिवर्तनको असरले अचेल माघ–फागुन महिनामै फुल्न थालेको छ।
