जेठ ३ धनगढी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकार्यका लागि भीम रावललाई आग्रह गरेका छन् । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल)लोकमार्ग अभियानअन्तर्गत शनिवार अछामको साँफेबगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीसँग सहकार्य गर्न भिम रावललाई आग्रह गरेका हुन् ।
उनले भने ‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, उहाँसग हिजो मात्र फोनमा कुरा भएको थियो। मैले तपाई किन अरु ठाउँ भौतारिरहनु भएको छ। आउनुस् समय खेर नफाल्नुस्, हामी बसेर कुरा गरौं, सहकार्य गरौं भनेको छु।’
एमालेबाट कार्वाही पछि रावल देश ब्यापी मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने ‘माओवादी बलियो भयो भने समग्र राष्ट्र नै बलियो हुन्छ । आगामी २०८४ मा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन म आग्रह गर्दछु ।’ शुक्रबार बैतडीबाट सुरु भएको माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान शनिबार अछाम पुगेको हो ।
