“साना किसानको समृद्धि: कृषिको रूपान्तरण र उद्यमशीलताको विकास” मूल नाराका साथ बाँकेमा आम प्रशिक्षण कार्यक्रम सम्पन्न

जेठ ४ धनगढी
बाँके, जेठ ४ — साना किसान कृषि सहकारी संस्थाहरूको सुदृढीकरण र उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले “साना किसानको समृद्धि, कृषिको रूपान्तरण र उद्यमशीलताको विकास” भन्ने मूल नाराका साथ २०८२ साल जेठ ३ र ४ गते बाँके र बर्दिया जिल्लाका साझेदार साना किसान कृषि सहकारी संस्था लिमिटेडहरूका सञ्चालक, लेखा सुपरिवेक्षण समिति तथा कर्मचारीहरूका लागि आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेपालगञ्ज, बाँकेको खजुरा स्थित होटल पौवामा सम्पन्न उक्त कार्यक्रममा ८५० भन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय नेपालगञ्जको आयोजनामा सम्पन्न भएको थियो।

लगातार ५ घण्टासम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा हाल देशभर देखिएका केही नातागत सहकारीहरूको कुशासनका असरले साना किसान सहकारीहरूमा पनि परेको प्रभावको समीक्षा गर्दै, नैतिकता, पारदर्शिता र नीतिगत सुधारमार्फत सहकारीहरूलाई थप सशक्त, उद्यममुखी र किसानमैत्री बनाउनुपर्नेमा जोड दिइयो।

प्रशिक्षणमा सहभागीहरूलाई जिम्मेवारी र उत्तरदायित्वको गहिरो बोध गराउँदै, सदस्यकेन्द्रित सेवा प्रवाह, डिजिटल प्रणालीको अवलम्बन, नीतिगत तथा कानुनी पालना, विपन्न किसानसँगको सम्बन्ध सुदृढीकरण लगायतका महत्वपूर्ण विषयहरूमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास लघुवित्तका अध्यक्ष खेमबहादुर पाठकले सहकारीहरूको सफलताको मूल आधार नै सञ्चालक, लेखा समिति र कर्मचारीहरूको इमानदारी र उत्तरदायित्वबोध भएको बताउँदै सहकारीलाई समुन्नत बनाउने दिशा निर्देश दिए।

अन्य विशिष्ट अतिथिहरूमा राष्ट्रिय सहकारी महासंघकी सदस्य एकता शाह, केन्द्रीय संघका उपाध्यक्ष पूर्ण शर्मा, लुम्बिनी प्रदेश कृषि संघका उपाध्यक्ष देवबहादुर ओली, नेपालगञ्ज शाखाका प्रबन्धक विशालकुमार तुलाधर, तथा सहकारी अभियन्ता हरिशचन्द्र केसी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बाँके जिल्लाभर क्रियाशील साना किसान कृषि सहकारी संस्थाहरूको प्रगति प्रतिवेदन समेत प्रस्तुत गरियो, जसअनुसार हालसम्म २१,८४२ जना शेयर सदस्य, १२,०७३ उद्यमी, कुल लगानी २ अर्ब ९७ करोड ९८ लाख १० हजार, बैंकतर्फको कर्जा ७२ करोड ८० लाख ७९ हजार, तथा आन्तरिक स्रोत २ अर्ब ४७ करोड ६५ लाख ४९ हजार पुगेको छ।

कार्यक्रम सञ्चालन साना किसान विकास लघुवित्त शाखा कार्यालय नेपालगञ्जकी वरिष्ठ सहायक लक्ष्मीकुमारी थापाले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply