जेठ १७ धनगढी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस–एमालेको रोग सरुवा भएकाले उनीहरूसँग सहकार्य नहुने बताएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सरकारमा जाँदा पटक–पटक कांग्रेस र एमालेसँग सहकार्य गरेको तर त्यसबाट राम्रो अनुभव नभएको उल्लेख गरे । उनले भने “हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सरेको जस्तो भयो । उनीहरूको रोग त फेरि सरुवा रोग हो । अब जनताको घर–घरमा गएर त्यसको उपचार गर्छौं । हामी अब उनीहरूसँग सहकार्य गर्दैनौं ।”
उनले भने “अब जनताले बुझ्न थालेका छन् माओवादी र कांग्रेस–एमाले पार्टी एउटै होइनन्, माओवादी केन्द्र नै जनताको असली प्रतिनिधि हो भन्ने कुरा जनताले बुझ्दै गएका छन् ।”
अध्यक्ष प्रचण्डले सरकारमा रहँदा माओवादी केन्द्रले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गरेको कारण दलाल र बिचौलिया अत्तालिएर सरकार विरुद्ध लागेको उल्लेख गरे । उनले भने , “जनताले माओवादी नै जनताको पक्षमा काम गर्छ भन्ने विश्वास गर्न थालेका थिए, तर यही काम बिचौलियालाई मन परेन, त्यसैले अपारदर्शी ढंगले हामीलाई सरकारबाट हटाइयो ।”
उनले पार्टी सरकारबाट बाहिरिएपछि पार्टीले आत्मसमिक्षा गर्दै देशव्यापी जनता सङ्ग जोडिने अभियान सञ्चालन गरेको जानकारी दिए । ती अभियान अन्तर्गत तराईमा हुलाकी मार्ग केन्द्रित, पहाडमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र अन्य अभियान सञ्चालन गरिएको उनले बताए ।
उनले तराईमा झन्डै करोडभन्दा बढी जनतासँग प्रत्यक्ष संवाद भएको र जनताले देखाएको माया र विश्वासले थप जिम्मेवारीको बोध गराएको बताए । अध्यक्ष प्रचण्डले हुलाकी अभियानमा तराईमा ८–९ लाख जनताले पार्टीमा प्रवेश गरिसकेको र हालसम्म दुईवटा पार्टीसँग एकता भइसकेको जानकारी दिए ।
सो अवसरमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले जेठ २० गतेदेखि उपत्यका जागरण अभियान सुरु गर्न लागेको जानकारी दिए ।
