जेष्ठ २३ धनगढी – परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले गौरीफन्टा सीमा नाकालाई व्यवस्थित गर्न पहल गर्ने बताएकी छिन । विहिवार नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा नाकाको अनुगमन गर्न गएकी उनले सो कुरा बताएकी हुन ।
उनले भनिन, ‘यो सडक थोत्रो भयो, सीमा क्षेत्रमा हामीले राम्रो सडक बनाउनुपर्छ, जसले अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो छवी जान्छ । यसका लागि म पहल गर्छु ।’ उनले भारतले प्रतिवद्धता गरे अनुसार सडक सुधार गरेको र नेपालतर्फको सडकको हालत उस्तै रहेकाले सुधार गर्नुपर्नेमा जोड दिइन् ।
नाका व्यवस्थित नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको स्थानियको गुनासो सुनेपछि परराष्ट्रमन्त्री राणा सीमा नाकामा पुगेकी थिइन ।
त्यहाँ पुगेर उनले सीमा क्षेत्र व्यवस्थित बनाउनका लागि के के गर्नुपर्छ यथाशीघ्र लेखेर पठाउन भन्सार प्रमुख अनन्तराज तिमिल्सिना, प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिईन ।
गौरीफन्टा नाका व्यवस्थित गर्नसके धनगढी मात्रै नभई समग्र सुदूरपश्चिमकै विकासमा टेवा पुग्ने परराष्ट्रमन्त्री राणाको भनाइ छ ।