जेठ २४ धनगढी
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले जन्म जात ओठ/तालु काटिएकाहरुका लागिी निशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ ।
आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालले सो सेवाबारे जानकारी दिएको हो । बालबालिकामा हुने यो जन्मजात समस्या हो र यस्को समस्या सर्जरीबाट मात्र हुने गरेको अस्पतालका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए ।
हाल यो रोग ५ सय जनामध्ये १ जनामा मात्र फेला पर्ने गरेको उनले बताए । यो रोगको सम्पूर्ण उपचार तथा बिरामीसँग आउने कुरुवाको आवतजावत र बस्ने सम्पूर्र्ण खर्च अस्पतालले व्यहोर्ने उनले बताए ।
उनले भने ‘स्माइल ट्रेन युएसएको गैर नाफामुलक संस्था हो । जुन निःशुल्क कम्परहेन्सिभ क्लेफ्ट केस संसारभरी ७० देशहरुमा दिँदै आएको र यस्को सुरुवात सुदूरपश्चिमको धनगढीस्थित निसर्ग हस्पिटलमा भएको छ ।’
उनले पश्चिम नेपालमा यस किसमको नियमित सर्जरी हुने ठाउँ मध्ये निसर्ग हस्पिटल एण्ड रिसर्च प्रालि पहिलो रहेको बताए । पश्चिम नेपाल भरिका जनताहरुले यहाँ आएर उपचार लिन सक्ने उनले बताए ।
यस्का लागि दक्ष डाक्टरहरुको टोली पनि उपलब्ध रहेको र अब सुदूरपश्चिमका जनताहरुले काठमाण्डौँ गएर उपचार गराउनु पर्ने समस्याको अन्त्य भएको अध्यक्ष पन्तले बताए । कार्यक्रममा मुख तथा बङ्ग्रा विशेषज्ञ डा दीपक ठकुराठी,न्युरो सर्जन डा सन्देश दाहाल,बालरोग विशेषज्ञ डा प्रदीप मिश्रलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रोहित गिरीले गरेका थिए ।