मधेस प्रदेश : जागिर छोड्ने प्रहरीको संख्या बढ्दो

जेठ २५ धनगढी
मधेस प्रदेशका युवामाझ कुनै समय नेपाल प्रहरीको जागिरमा ठूलो आकर्षण थियो। तर मधेसमा पछिल्लो समय प्रहरी सेवाबाट राजीनामा दिनेहरू बढिरहेको देखिन्छ ।

नेपाल प्रहरीमा विशेष गरी तल्लो दर्जाका कर्मचारीहरूले विभिन्न कारण देखाउँदै जागिर छाड्ने प्रवृत्ति बढ्दो छ। मुख्यतः न्यून तलब, अत्यधिक कार्यभार, राजनीतिक हस्तक्षेप, पारिवारिक जीवनमा असन्तुलन र वैदेशिक रोजगारीको आकर्षणले उनीहरूलाई जागिर छाड्न बाध्य बनाएको हो।

कम तलब र अत्यधिक कार्यभार
प्रहरी जवानहरूको मासिक तलब करिब २६ हजार रुपैयाँ मात्र छ, जसमा खाद्यान्न भत्ता पनि समावेश हुन्छ। यो तलब दैनिक खर्च, परिवारको पालनपोषण र भविष्यको सुरक्षाका लागि अपुरो हुने उनीहरूको गुनासो छ।

निजामती सेवाका कर्मचारीहरू ८ घण्टाको ड्युटीपछि घर फर्किएर परिवारसँग समय बिताउन पाउँछन् भने प्रहरीहरूलाई कुनै पनि समय, कुनै पनि परिस्थितिमा लामो घण्टासम्म ड्युटीमा खटिनुपर्ने बाध्यता हुन्छ। कहिलेकाहीँ १८ घण्टासम्म पनि ड्युटी गर्नुपर्ने अवस्था आउने हुँदा मानसिक र शारीरिक थकान अत्यधिक हुने बताइन्छ।

अपर्याप्त पोसाक र सुविधा
प्रहरीहरूले ड्युटीमा खटिँदा आवश्यक पोसाकसमेत समयमा नपाउने गुनासो छ। तीन वर्षमा एक जोर जुत्ता र वर्षमा दुई सेट पोसाक मात्र उपलब्ध हुने हुँदा दैनिक १८ घण्टासम्मको ड्युटीमा ती पोसाक टिक्ने अवस्था रहँदैन। कतिपय अवस्थामा प्रहरीहरू फाटेका जुत्ता र पुराना कपडामा ड्युटी गर्न बाध्य हुने गरेका छन्।

घाइते प्रहरीको पीडा
ड्युटीको क्रममा गम्भीर घाइते भएका प्रहरीहरूको उपचार खर्च राज्यले नबेहोर्ने गुनासो पनि उठ्दै आएको छ। कतिपयले खेत बेचेर वा ऋण लिएर उपचार गराएको पीडा व्यक्त गरेका छन्।

यस्तै अन्य प्रदेशमा सरुवा हुँदा परिवारसँग टाढा बस्नुपर्ने बाध्यताले प्रहरीहरूको पारिवारिक जीवनमा असन्तुलन ल्याएको छ। विशेषगरी पहाडी जिल्ला र मधेशबीचको भौगोलिक दूरीका कारण यो समस्या अझै जटिल देखिन्छ।

पेन्सनको व्यवस्थामा पनि असन्तोष
प्रहरी सेवाबाट १६ वर्ष पूरा भएपछि पेन्सनको व्यवस्था भए पनि सेवा अवधिको आधारमा सुविधा फरक नहुने प्रणालीप्रति पनि असन्तोष देखिएको छ। १६ वर्ष र ३० वर्ष सेवा गरेका प्रहरीलाई लगभग समान सुविधा दिइने भएपछि धेरैले १६ वर्षमै जागिर छाड्ने गरेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ८३ जना प्रहरीले राजीनामा दिएका छन्। तीमध्ये बरिष्ठ सई १ जना, असई १४, बरिष्ठ हवलदार २१, हवलदार ३१, सहायक हवलदार ४, जवान ९ र कार्यालय सहयोगी ३ जना रहेका छन्।

प्रहरी नेतृत्वको धारणा
मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले रातोपाटीसँगको कुराकानीमा प्रहरी सेवाबाट राजीनामा दिने प्रवृत्ति देशैभर बढ्दो रहेको स्वीकार गरे। महँगीअनुसार तलब, भत्ता, सुविधा नबढेकोले यस्तो अवस्था आएको हुनसक्ने उनले बताए। प्रहरीका छोराछोरीको शिक्षाको ग्यारेन्टी, परिवारसहितको स्वास्थ्य उपचार, बढ्दो महँगी अनुसार राशन र ड्युटीका आधारमा अतिरिक्त भत्ता दिने व्यवस्था भएमा प्रहरी जागिरप्रति पुनः आकर्षण बढ्न सक्ने चतुर्वेदीको सुझाव छ।

एकजना अवकाशप्राप्त प्रहरी अधिकृतका अनुसार समस्याको दीर्घकालीन समाधानका लागि तलब र सेवासुविधा सुधार, पारदर्शी सरुवा र बढुवा प्रक्रिया, पारिवारिक जीवनसँग सन्तुलन कायम गर्ने नीति र पोसाक तथा उपकरणको समयमै उपलब्धता सुनिश्चित गर्न आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply