अमेरिकाले इरानका तीन न्युक्लियर परियोजनामा खसाल्यो बम

असार ८ धनगढी
अमेरिकाले इरानको न्युक्लियर परियोजनामा हमला गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेख्दै अमेरिकाले इरानी न्युक्लियर परियोजनामा हमला गरेको जानकारी दिएका हुन्। उनले फर्दो, नतान्ज र इस्फाहानको आणविक भट्टीमा अमेरिकाले बम खसालेको बताएका हुन्।

फर्दोको आणविक भट्टी पहाडभन्दा सैयौं फिट तल बलियो बंकरमा बनाइएको छ।

अमेरिकी बमवर्षक विमानले इरानका तीन न्युक्लियर परियोजनामा हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि लेखेको छ।

राष्ट्रपति ट्रम्पले सबै आक्रमण सफल भएको बताएका छन।

सबै विमान सुरक्षित घर फर्किसकेका छन्। हाम्रा बहादुर अमेरिकन योद्धाहरूलाई बधाई छ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।

इसराइलले इरानविरूद्ध हमलामा सघाउन अगाडि नै अमेरिकालाई आग्रह गरेको थियो। किनकी इरानले जमिनमुनी बनाएका आणविक केन्द्रहरू ध्वस्त पार्ने हतियार अमेरिकासँग मात्रै रहेको बताइन्छ।

यसअघि अमेरिकाले इरानलाई आणविक कार्यक्रम सम्बन्धी वार्ता र सहमतिमा आउनका लागि दुई साताको समय दिएको थियो। यद्यपि उसले त्यसअघि नै समयअगाडि नै इरानमाथि हमला गरेको हो।

अमेरिका इसराइलसँग मिलेर हमला गरे मध्यपूर्वमा भएका उसका सैन्य संरचनामा जबाफी हमला गर्ने चेतावनी यसअघि नै इरानले दिएको थियो।

अमेरिकाको जिबियू–५७ बंकरभेदी बम के हो? कसरी गर्छ यसले काम?
-प्रेम ढकाल

अमेरिकी सेना परिचालन गरेर इरानको आणविक हतियार कार्यक्रम रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्प तयार भए पनि अमेरिका अझै इसराइल-इरान युद्धमा सहभागी भएको छैन।

इसराइलले गत साता इरानको आणविक हतियार कार्यक्रम रोक्न हमला गरेपछि दुई देशले एकअर्कामाथि लगातार आक्रमण गरिरहेका छन्।

इसराइलले पछिल्ला केही दिनमा इरानको नतान्ज लगायत अन्य केही ठाउँमा रहेका आणविक भट्टीमा प्रहार गरेर नोक्सान पुर्‍याएको छ। तर फर्दो भन्ने ठाउँमा पहाडभन्दा सयौं फिट तल बलियो बंकरमा बनाइएको भट्टीमा नोक्सान पुर्‍याउन सकेको छैन।

फर्दोको भट्टी ध्वस्त पार्न इसराइलले अमेरिकाको सहयोग मागेको छ। ट्रम्प त्यसका लागि तयार रहेको मानिन्छ। तर अमेरिकाले अझै हमला गरेको छैन।

अमेरिका युद्धमा नहोमिँदा स्वाभाविक रूपले वार्ताबाट समाधान निस्कने सम्भावना रहन्छ। त्यसैले इरानले आफै अघि सरेर फर्दो लगायत अन्यत्र रहेका आणविक भट्टीहरू बन्द गरोस् भन्ने ट्रम्पको चाहना देखिन्छ।

यसबाहेक अमेरिकाले फर्दोमा प्रहार नगर्नुका पछाडि प्राविधिक कारण पनि छ।

आणविक हतियार प्रयोग नगरी त्यहाँको भट्टी ध्वस्त पार्ने क्षमता अमेरिकासँग मात्र रहेको मानिन्छ। त्यसका लागि अमेरिकाले आफूसँग रहेको झन्डै १४ टन क्षमताको जिबियू–५७ भनिने सबभन्दा ठूलो बम प्रयोग गर्नुपर्ने हुन्छ। यो बंकर ध्वस्त पार्ने सामर्थ्य भएको ‘बंकरभेदी’ बम हो।

यही बम पनि एउटा मात्र हानेर पुग्दैन। एकै ठाउँमा धेरैवटा यस्ता बम लगातार प्रहार गरेपछि मात्र भट्टी ध्वस्त पार्न सकिने विज्ञहरूले बताएका छन्।

यो बम बोक्न सक्ने बमवर्षक विमान पनि इसराइलसँग छैन। यसका लागि अमेरिकाको अत्याधुनिक बी–२ बमवर्षक विमान प्रयोग गर्नुपर्छ। यही विमानले मात्र बंकरभेदी बम बोकेर प्रहार गर्न सक्छ। त्यसैले इसराइलले फर्दोको भट्टी ध्वस्त पार्न अमेरिकासँग मद्दत मागेको हो।

इसराइललाई मद्दत गर्न ट्रम्प तयार रहे पनि धेरैवटा बम हानेर फर्दोको भट्टी नष्ट गर्न सकिन्छ कि सकिँदैन भन्ने अझै यकिन छैन। अहिलेसम्म फर्दोको भट्टीजस्तो बलियो बंकर भत्काउन यो बम प्रयोग भएकै छैन।

जमिनको सतहबाट झन्डै तीन सय फिट मुनि रहेको फर्दोको भट्टी बंकरभेदी बमले ध्वस्त हुन्छ भन्ने सुनिश्चित भए मात्र प्रहार गर्नुपर्ने ट्रम्पको धारणा रहेको बेलायती पत्रिका ‘द गार्डियन’ ले लेखेको छ।
अब हामी जिबियू–५७ भनिने बंकरभेदी बम र यसले कसरी काम गर्छ भन्नेबारे चर्चा गरौं।

आफूले नगरेको कामको पनि जस लिने बानी भएका ट्रम्पले यो बम आफ्नो पालामा बनाएको दाबी गरेका छन्। तर ‘फाइनान्सियल टाइम्स’ का अनुसार बम ट्रम्पको पालामा बनाइएको होइन।

सन् २००३ मा इराकमाथि आक्रमण गर्दा त्यति बेला अमेरिकासँग रहेको सबभन्दा शक्तिशाली बमले पनि इराकका केही बंकर भत्काउन सकेको थिएन। तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसले अझ शक्तिशाली बम बनाउन आदेश दिएका थिए। त्यही आदेशपछि अमेरिकाले यो बम बनाएको हो।

बमको वजन ३० हजार पाउन्ड (करिब १३.६ टन) छ। तर करिब ८० प्रतिशत वजन धातुको खोलले ओगट्छ। भित्र रहेको विस्फोटक पदार्थको वजन २० प्रतिशत मात्र छ। विशेष खालको अत्यन्तै बलियो स्टिलको खोल भएको यो बम धेरै माथिबाट खसालिन्छ। बमको वजन र उचाइका कारण उत्पन्न हुने शक्तिले अत्यन्तै बलियो र बाक्लो कंक्रिटको बंकर पनि छेड्न सक्छ भनेर बेलायती पत्रिका ‘द इकोनोमिस्ट’ ले लेखेको छ।

भूमिगत सैन्य बंकर बनाउन प्रयोग हुने सामान्य खालको कंक्रिट करिब ६० मिटर (करिब २०० फिट) बाक्लो भए पनि यो बमले छेड्न सक्ने मानिन्छ। तर इरानले पछिल्ला केही वर्षमा अझ बलियो कंक्रिट बनाउने प्रविधि विकास गरेको मानिँदै आएको छ। फर्दोको बंकर पनि त्यही बलियो कंक्रिटले बनेको हो भने यो बमले ६० मिटरसम्म छेड्न सक्दैन। अमेरिका आफैले पनि धेरै बलियो कंक्रिट बनाएको छ।

फर्दोको बंकर कुन गुणस्तरको कंक्रिटले बनेको हो भन्ने यकिन नभएकाले पनि यो बमले कति छेड्छ भन्ने टुंगो नभएको हो।

उदाहरणका लागि — सैन्य बंकर बनाउन प्रयोग हुने सामान्य खालको कंक्रिटले हरेक वर्गइन्चमा करिब पाँच हजार पाउन्डको शक्ति धान्छ भनिन्छ। दस हजार पाउन्डको शक्ति धान्ने कंक्रिट भने यो बमले करिब आठ मिटर मात्र छेड्न सक्ने मानिन्छ।

यो बमले फर्दोको बंकर कति मिटरसम्म छेड्छ भन्ने अमेरिकी सैन्य अधिकारीहरूलाई नै थाहा छैन। त्यही भएर उनीहरूले ट्रम्पलाई ठोकुवा गरेर फर्दोको बंकर ध्वस्त पार्न सकिन्छ भन्न सकेका छैनन्।

फेरि यो बम जिपिएस प्रविधिमा आधारित छ। यो प्रविधिलाई निस्क्रिय पनि पार्न सकिन्छ।

अहिले इसराइलले इरानी आकाशमा पूर्ण नियन्त्रण कायम गरेको छ। तैपनि केही गरी इरानले फर्दो नजिकै ‘ज्यामर’ प्रयोग गरेर बमको जिपिएस निस्क्रिय पारिदियो भने त्यसको निशाना चुक्न सक्छ।

त्यसैले इसराइलले हवाई आक्रमण गरेर नजिकका सबै ‘ज्यामर’ लगायतका रक्षात्मक प्रविधि नास गरेपछि मात्र अमेरिकाले यो बम प्रयोग गर्नेछ। वा, बममा जिपिएस प्रविधि निस्क्रिय पार्न नमिल्ने अरू नै अत्याधुनिक प्रविधि जडान गर्नुपर्ने हुन्छ। यो कारणले पनि अमेरिकाले अहिलेसम्म इरानमाथि प्रहार नगरेको मानिन्छ।

केही सुरक्षा अधिकारीले भने इरानको उक्त भट्टीलाई पहिले जिबियू–५७ ले अलि अलि भत्काएर कम शक्तिशाली ‘ट्याक्टिकल’ आणविक हतियारले ध्वस्त पार्न सकिने सल्लाह दिएका छन्। तर ट्रम्प ‘ट्याक्टिकल’ आणविक हतियार प्रयोग गर्न तयार छैनन्।

अहिलेसम्म अमेरिकाबाहेक अरू कसैले आणविक हतियार युद्धमा प्रयोग गरेको छैन। अमेरिकाले पनि आठ दशकअघि दोस्रो विश्वयुद्धमा जापानमाथि आणविक हतियार प्रयोग गरेको थियो।

अहिलेका आणविक हतियार जापानमाथि प्रहार भएकाभन्दा कयौं गुणा शक्तिशाली छन्। त्यसैले धेरै देशले कम शक्तिशाली ‘ट्याक्टिकल’ आणविक हतियार पनि बनाएका छन्। शक्तिशाली आणविक हतियारले ठुल्ठूला सहर एकैचोटि ध्वस्त पार्न सक्छन्। ‘ट्याक्टिकल’ आणविक हतियारले भने अलि सानो क्षेत्र मात्र ध्वस्त पार्छ। त्यसैले युद्ध बेला सेनाको ठूलो ब्यारेक वा अरू कुनै सैन्य संरचना भत्काउन यसको प्रयोग गर्न सकिन्छ।

तैपनि अहिलेसम्म कसैले यस्ता हतियार युद्धमा प्रयोग गरेका छैनन्। अमेरिकाले इरानको आणविक भट्टीमाथि ‘ट्याक्टिकल’ आणविक हतियार प्रयोग गरे सारा संसारले विरोध गर्नेछ। सँगसँगै, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि युक्रेनमाथि त्यस्ता हतियार प्रयोग गर्ने खतरा ह्वात्तै बढ्छ। अरू देशले पनि प्रयोग गर्न सक्छन्।

त्यसैले अमेरिकी राष्ट्रपति ट्रम्प जिबियू–५७ बमहरू प्रयोग गरेर नै फर्दोको आणविक भट्टी ध्वस्त पार्न चाहन्छन्। ती बमले फर्दोको आणविक भट्टी ध्वस्त पार्छन् भन्ने यकिन गरेर मात्र उनले प्रहार गर्ने निर्देशन दिन सक्छन्। सागर सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply