तीन वर्षमा एक लिटर डिजेलको मूल्य ४७ रूपैयाँले घट्यो, खपतमा सुधार

असार ९ धनगढी
२०७९ साल जेठ २६ गते काठमाडौंमा एक लिटर डिजेल किन्न १६५ रुपैयाँ तिर्नुपर्ने थियो। २०७९ असार ५ गते एकैपटक २७ रुपैयाँले बढाएपछि प्रतिलिटर १९२ रुपैयाँ पुर्‍याइएको थियो।

त्यसयता तीन वर्षमा डिजेलको मूल्य लिटरमा ४७ रुपैयाँले घटेको छ। अझै घट्दो क्रममा देखिएको छ। २०८० को असार १ मा आइपुग्दा प्रतिलिटर १५५ रुपैयाँ पुग्यो।

२०८१ असार १ मा १५३ रुपैयाँ पुग्यो। अहिले २०८२ असार १ गतेबाट १४५ रुपैयाँ लिटरमा पाइन्छ।असार १ गते पहिले त १४३ रुपैयाँ लिटर मात्रै थियो।

नेपाल आयल निगमका अधिकारीहरूका अनुसार २०७८ सालमा नै डिजेलको मूल्य १४५ रुपैयाँ लिटर पुगेको थियो। २०७९ सालमा भने अत्यधिक मात्रामा मूल्य बढेको थियो। त्यसपछिका वर्षमा लगातार घट्दो प्रवृत्ति पछ्याएको छ।

औद्योगिक कच्चा पदार्थ र ढुवानीमा प्रयोग गरिने डिजेल नेपालले आयात गरेर मात्रै खपत गर्ने हो। औसत रूपमा सरकारले ३९ प्रतिशत डिजेलमा कर उठाउने गरेको छ।

अन्तर्राष्ट्रिय रूपमा मूल्य निरन्तर घटेपछि डिजेलको आयात मूल्य पनि घटेको हो। चालु आर्थिक वर्षको ११ महिनामा गत वर्षको यही समयको तुलनामा डिजेलको परिमाणात्मक आयात ५ प्रतिशतले बढेको छ। तर, आयातको लागत वा आयात मूल्य भने करिब ११ प्रतिशतले घटेको छ।

२०८० को साउनदेखि २०८१ जेठ महिनासम्म १२ लाख ५० हजार किलोलिटर डिजेल आयात भएको थियो। जसको आयात मूल्य एक खर्ब २९ अर्ब रुपैयाँ थियो।

चालु वर्ष अर्थात् २०८१ साउनदेखि २०८२ असारसम्म १३ लाख १२ हजार किलोलिटर डिजेल आयात भएको छ। जसको आयात मूल्य भने एक खर्ब १५ अर्ब रुपैयाँ रहेको छ।

यसको अर्थ गत वर्षको तुलनामा डिजेलको आयात ६२ हजार किलोलिटर बढेको छ। तर आयातको लागि लाग्ने खर्च अर्थात् आयात मूल्य भने १४ अर्ब रुपैयाँले घटेको छ।

पछिल्लो चार वर्षको डिजेल आयात र मूल्य

पछिल्लो महिनाहरूमा डिजेलको आयात बढ्दो क्रममा देखिएको छ।

चालु वर्षको पहिलो ६ महिनासम्म गत वर्षको तुलनामा डिजेलको परिमाणात्मक आयात पनि १.२ प्रतिशतले घटेको थियो।

माघदेखियता भने निरन्तर बढ्दो क्रममा छ। गत वर्ष पुस मसान्तदेखि जेठसम्म ६ लाख ३१ हजार किलोलिटर मात्रै डिजेलको आयात भएको थियो।
चालु वर्षमा भने यसै समयमा ७ लाख १ हजार किलोलिटर डिजेल आयात भएको छ।

पछिल्लो ६ महिना डिजेलको आयात तथा खपत वृद्धिदर ११ प्रतिशतले बढी रहेको छ।

मूल्यगत रूपमा गत वर्षको तुलनामा कम मूल्यको आयात भएको कारण खपत घटेको विश्लेषण गरिएको पाइन्छ। यथार्थमा यस्तो होइन,’ नेपाल आयल निगमका निर्देशक सिए. नागेन्द्र साहले भने, ‘यथार्थमा पछिल्ला महिना डिजेलको खपत तथा आयात बढ्दो देखिएको छ, गत वर्षको ११ महिनासँग तुलना गर्दा पनि ५ प्रतिशतको वृद्धि छ।’

उनले अन्तर्राष्ट्रिय बजारमा नै मूल्यमा आएको कमीको कारण पछिल्ला वर्षहरूमा निरन्तर मूल्य घटेको बताए।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान डिजेलको प्रयोग निर्माणाधीन आयोजना तथा औद्योगिक क्षेत्रमा ४० प्रतिशत र यातायात तथा ढुवानीमा ६० प्रतिशत प्रयोग हुने बताउँछन्।

पछिल्ला दिनहरूमा निर्माण गतिविधि र औद्योगिक उत्पादनमा पनि सुधार आएको कारण डिजेलको खपत बढ्न थालेको बताइएको छ। साभार सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply