असार ९ धनगढी
आइतबार २६ सयको विन्दुबाट ओरोलो लागेको नेप्सेले यही तहमा प्रतिरोध पाउन थालेको छ।
सोमबार अन्तर दिनको कारोबारमा पटक पटक २६ सय विन्दु पार गर्दै झर्दै गरेको नेप्से बजार बन्द हुँदा २६ सय विन्दुमा आइपुगेको छ। आइतबारको तुलनामा ४.७८ अंकले नेप्से बढेको हो।
आइतबार तीन महिनापछि नेप्से २६ सय विन्दु मुनी आएको थियो। बजारले प्रतिरोध परिक्षण गरिरहँदा लगानीकर्ताहरू पनि ‘पर्ख र हेर’ को अवस्थामा देखिएका छन्।
यही कारण बजार बढेपनि कारोबार रकम भने २९ प्रतिशतले घटेको छ।
आइतबार नौ अर्ब १४ करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ४७ करोड रूपैयाँको कारोबार भएको हो।
आज ३२५ वटा धितोपत्रको एक करोड ७५ लाख सेयर किनबेच भएको हो।
सोमबार १६० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ। यसदिन पनि जोशी हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३८३ रूपैयाँ ४० पैसा कायम भएको छ।
यस्तै, पञ्चकन्यामाई हाइड्रोपावरको मूल्य ९.४२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३९५ रूपैयाँ १४ पैसा पुगेको छ।
गुराँस लघुवित्त वित्तीय संस्थाको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार एक सय १४ रूपैयाँमा झरेको छ।
यसैगरी, पियोर इनर्जीको मूल्य ५.६८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९२२ रूपैयाँ कायम भएको छ।
सोमबार राधि विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ८२६ रूपैयाँमा ५२ करोड १८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.९६ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बुटवल पावर कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८३२ रूपैयाँमा ४२ करोड १७ लाख बराबरको सेयर कारोबार भएको छ।