सुदूरपश्चिम प्रदेशमा सरकारी कामकाजको भाषा निर्धारण सम्बन्धी अन्तरक्रिया

असार १५ धनगढी । कैलालीको जोशीपुरमा सुदूरपश्चिम प्रदेशमा सरकारी कामकाजको भाषा निर्धारण सम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन गोष्ठी सम्पन्न भएको छ । शनिबार सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा डोट्याली र थारु भाषाका विषयमा दुई वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । डोट्याली भाषाका विषयमा मार्क्सवादी अध्ययन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा प्रगतिशील लेखक संघका प्रदेश सल्लाहकार केशवनाथ योगीले कार्यपत्र प्रूस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै योगीले नेपाली भाषा बाहेक सुदूरपश्चिम प्रदेशभित्र बोलिने विभिन्न भाषा भाषिकाहरुमा डोट्याली भाषा र थारु भाषा नै मुख्य भाषा भएको बताए ।

नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश समितिका सह–सहसचिव समेत रहेका योगीले कार्यपत्रमा केवल डोट्याली भाषालाई साझा मानक भाषा साहित्यका रुपमा विकास गर्न सकिने आधारहरुको संक्षिप्त विश्लेषण र सुझावहरु पेश गर्नुका साथै भाषाको उत्पत्ति र विकासका सर्न्दभमा पनि विषयवस्तु समावेश गरेका थिए ।

योगीले कार्यपत्रमा भाषाको ऐतिहासिक विकासक्रम,विश्वमा भाषाको वर्तमान अवस्था,साहित्यकारको दृष्टिकोणमा भाषा,खसभाषा (डोट्याली)भाषाको ऐतिहासिक पृष्ठभूमि,छिमेकी राज्यसंग डोट्याली भाषाको ऐतिहासिक सम्बन्धलगायत विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले भाषा जटिल विषय भएको बताउँदै यसको निरन्तरताका लागि व्यापक छलफल गर्नुपर्ने बताए । कार्यक्रममा संविधानसभा सदस्य हरि ज्ञवाली,सुदूरपश्चिम प्रदेशका पूर्व राज्यमन्त्री टेकबहादुर रैकालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply