धनगढी, असोज ५
धनगढीस्थित हिलवल्र्ड ईङ्गलिस बोर्डिङ स्कुलले कैलाली जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्री सहयोग गरेको छ। भदौ २४ गते जेन–जी पुस्ताको आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनी तथा तोडफोडका कारण सेवाप्रवाहमा समस्या आएपछि विद्यालयले सहयोग प्रदान गरेको हो।
धनगढी उपमहानगरपालिका–१ मा रहेको विद्यालयले आइतबार विशेष कार्यक्रममार्फत विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजबहादुर बम र प्रधानाध्यापक डि.आर. शर्माले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णप्रसाद लम्साल र सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई टेबल, कुर्सी, दराजलगायत सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रममा अध्यक्ष बमले हिलवल्र्ड विद्यालयले शैक्षिक गतिविधिसँगै सामाजिक र मानवीय कार्यमा पनि निरन्तर अग्रसरता देखाउँदै आएको बताए। उनले धनगढी उपमहानगरपालिका–१३ मा दृस्टि फाउण्डेशन स्थापना हुनु अघि नै हिलवल्र्ड विद्यालय सामाजिक सहयोग गर्ने पहिलो संस्था रहेको उल्लेख गर्दै संकटका समयमा आपसी सहयोग र सहकार्य अपरिहार्य हुनेमा जोड दिए।
त्यस्तै, प्रधानाध्यापक शर्मााले हालैको आन्दोलनका कारण प्रशासन कार्यालयमा भौतिक संरचनागत क्षति पुगेकाले सेवाप्रवाहमा अवरोध आएको भन्दै विद्यालयको तर्फबाट मानवीय र सामाजिक उत्तरदायित्व स्वरूप सामग्री सहयोग गरिएको जानकारी दिए। उनले यस्तो सहयोगले प्रशासनको नियमित सेवा सञ्चालनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
सहयोग ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी लम्सालले विद्यालय परिवारलाई आभार प्रकट गर्दै यस्तो कठिन परिस्थितिमा गरिएको सहयोगले प्रशासनलाई राहत पुगेको र समुदायसँगको सम्बन्ध अझ मजबुत भएको बताए। उनका अनुसार आन्दोलनका क्रममा प्रशासनको पुरानो भवन ध्वस्त हुनुका साथै नयाँ भवनमा रहेका सामग्री समेत नष्ट भएका थिए। विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगकै आधारमा अहिले प्रशासनले सेवा निरन्तरता दिइरहेको उनले जानकारी दिए।