कृष्ण केसी, असोज ९, बाँके
धान उत्पादनमा आत्मनिर्भरता र कृषकको आय वृद्धिलाई लक्ष्य बनाउँदै बाँकेको अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडले अत्याधुनिक प्रविधियुक्त सिल्की राइस मिल सञ्चालनमा ल्याएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा सहकारीले किसानहरूमैत्री योजनाअन्तर्गत १९७०० कुन्टल धान खरिद गरी व्यावसायिक उत्पादनको सुरुवात गरेको थियो। सोही निरन्तरतामा करिब १० करोड रुपैयाँको लगानीमा स्थापित मिल अहिले नियमित रूपमा सञ्चालनमा आएको हो।
सहकारीका प्रबन्धक उमेश थारुका अनुसार नयाँ प्रविधिबाट उत्पादन भएको चामल छोटो समयमै उपभोक्ताबीच लोकप्रिय बन्न सफल भएको छ। “हाम्रो उत्पादन गुणस्तरीय मात्र होइन, स्वादमा पनि मौलिक छ। यसैले यो चामल विदेशी चामलसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छ,” प्रबन्धक थारुले बताए।
हाल बाँके, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न बजारमा सहकारीको उत्पादनले तीव्र बजार माग पाएको छ। उपभोक्ताको रोजाइअनुसार मिलमा अहिले मोटो, माला र जिरा मसिनो गरी तीन किसिमका चामल उत्पादन भइरहेको छ।
उपभोक्ता सेवामा थप सुविधा पुर्याउन सहकारीले चाँडै नै घर–घरमा होम डेलिभरी सेवा सुरु गर्ने घोषणा गरेको छ। थोक वा खुद्रा खरिदका लागि उपभोक्ताले सिधै ९८४८०९९५०० मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ।
विशेषज्ञहरूका अनुसार यो सिल्की राइस मिल मध्य र सुदूरपश्चिम क्षेत्रमा सहकारीको मार्फत सञ्चालनमा आएको सबैभन्दा ठूलो उद्यम मानिएको छ। यसले एकातिर किसानलाई आफ्नो धान उचित मूल्यमा बिक्री गर्ने सहज अवसर प्रदान गर्नेछ भने अर्कोतिर आयातित चामलमा निर्भरता घटाएर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ।
कृषि क्षेत्रमा आत्मनिर्भर नेपाल बनाउने लक्ष्यसँगै अष्टम साना किसान सहकारीको यो पहलले ग्रामीण अर्थतन्त्र सबलीकरण, रोजगारी सृजना र किसानलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।