हेमा भट्ट, असोज १८, कपिलवस्तु —धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस आज बिहान कपिलवस्तुमा दुर्घटनाग्रस्त हुँदा एक युवतीको मृत्यु भएको छ। ना ८ ख ५७०३ नम्बरको उक्त बस शनिबार बिहान करिब ६ बजे शिवराज नगरपालिका–१, पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
दुर्घटनामा दिपायल सिलगढी नगरपालिका–१ की १७ वर्षीया सरस्वती खड्काको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
परिवारका अनुसार, खड्का जापान उडानका लागि तयारी अवस्थामा काठमाडौं जाँदै थिइन्। उच्च अध्ययन र उज्ज्वल भविष्यको सपना बोकेकी ती युवतीको अकाल निधनले परिवार, नातेदार र सम्पूर्ण समाजमा गहिरो शोक छाएको छ।
बसमा करिब ४२ जना यात्रु सवार रहेका थिए। दुर्घटनामा १६ जना घाइते भएका छन्, जस मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये ३ जनाको उपचार भैरहवास्थित सिटी अस्पतालमा, १२ जनाको चौतारा अस्पतालमा र १ जनाको मार्ससिटी अस्पतालमा भइरहेको छ।
बस प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन्।
चालकको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन्।
घटनास्थलमा प्रहरी र स्थानीयवासीहरूले तत्काल उद्धार कार्य सञ्चालन गरेका थिए।
यद्यपि दुर्घटनाको ठ्याक्कै कारण खुल्न बाँकी रहेको र प्रारम्भिक अनुमानअनुसार मानव त्रुटि वा मेकानिकल समस्या कारण हुनसक्ने प्रहरीको भनाइ छ।
जापानको सपनासहित उडान गर्न तयार भएकी एक युवतीको यस्तो असामयिक निधनले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ।
सामाजिक सञ्जालहरूमा अहिले सरस्वती खड्कालाई श्रद्धाञ्जली र शोकसन्देशका ओइराहरू देखिएका छन्।
हेमा भट्ट, विशेष रिपोर्ट, कपिलवस्तु