कपिलवस्तु — शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनाका क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार केही यात्रुहरू घाइते भएका हुन्।
प्रहरीका अनुसार, ठक्करबाट अन्दाजी ५०/५५ वर्षका पहाडी मूलका एक पुरुष पैदल यात्रीको उपचारका लागि चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल पुर्याउँदा मृत्यु भएको हो। मृतकको नाम र ठेगाना अहिलेसम्म खुल्न बाँकी रहेको जनाइएको छ।
बसमा सवार घाइते पाँच यात्रुहरूलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले जानकारी दिनुभयो।
