काठमाडौं, २०८२ कात्तिक २६
नेपालको वाम राजनीतिक वृत्तमा नयाँ एकता प्रक्रियाको शुरुवात भएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मातृभूमि जागरण अभियान, नेपालबीच संगठनात्मक एकीकरणका लागि सात बुँदे सहमति-पत्रमा हस्ताक्षर भएको छ।
काठमाडौंमा सम्पन्न कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावल, र नेकपाका सह–संयोजक माधव कुमार नेपालले सहमति–पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति–पत्रमा नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता र आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै, बाह्य हस्तक्षेप र दबाबबाट मुक्त राष्ट्रिय राजनीति र अर्थतन्त्रको मार्गमा अघि बढ्ने उल्लेख छ।

दुवै पक्षले समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रूपान्तरणलाई पार्टीको मूल लक्ष्य बनाउने सहमति गरेका छन्। सहमति अनुसार आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गरिनेछ, जसको मिति र स्थान सचिवालयले निर्धारण गर्नेछ।
सहमति–पत्रमा पार्टी नेतृत्व, विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमहरू आपसी सहमतिमा तयार गर्ने, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्त पालना गर्ने उल्लेख गरिएको छ।
डा. भीम रावलले सहमति–पत्रको प्रस्तावकका रूपमा हस्ताक्षर गरेका छन् भने प्रचण्ड र माधव नेपालले त्यसलाई समर्थन जनाएका छन्। सहमति अनुसार अब दुवै पक्षका कार्यकर्ताहरूलाई तहगत रूपमा समायोजन गरी पार्टी संरचना एकीकृत गरिनेछ।
नेताहरूले यो एकीकरणले वाम एकतालाई नयाँ ऊर्जासहित पुनर्जीवित गर्ने र देशलाई राजनीतिक स्थायित्व र सुशासनको दिशामा लैजाने विश्वास व्यक्त गरेका छन्।
