मंसिर ९
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उच्च उतारचढाव देखियो।
प्रमुख दलहरूले निर्वाचनको लागि दल दर्ता गर्ने र प्रतिनिधिसभा पुनर्स्थापनाको लागि अदालत जाने प्रक्रियासँगसँगै थाल्ने भएपछि राजनीतिक अवस्था के हुने हो भन्ने चिन्तामा लगानीकर्ता देखिएका हुन्।
जेनजीको नाममा केही समूहले आज गरेको प्रदर्शनले पनि राजनीतिक वातावरण बिथोलिने होकी भन्ने डरमा समेत लगानीकर्ता छन्।
केही समयअघि नेप्से न्यून बिन्दुमा रहँदा बजार पसेकाहरूले नाफा सुरक्षित गरिरहँदा पनि चाप परेको हो। यद्यपी दिनभरको उतारचढावपछि पनि नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५ विन्दुमा पुगेको छ।
कारोबार रकममा भने गिरावट आएको छ। सोमबार बजारमा सात अर्ब तीन करोड रूपैयाँको कारोबार भएको मंगलबार पाँच अर्ब ८२ करोड रूपैयाँको कारोबार भएको हो।
जीवन बीमा, विकास बैंक, सामूहिक लगानी कोष, व्यापारमूलक समूह घटेका छन्।
कारोबारमा आएका तीन सय १९ लगानी उपकरणमध्ये एक सय ३९ वटाको मूल्य बढेका छन्, एक सय ५३ वटाको सेयर मूल्य घटेका छन्। बाँकीको स्थिर छ।
हालै सूचीकृत झापा इनर्जी, सागर डिष्टिलरी, र श्री नगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ।
जोशी हाइड्रोको सेयर मूल्य ४.९६ प्रतिशतले घटेको छ।
यसदिन सबैभन्दा धेरै कारोबार हुनेमा बन्दिपुर केबलकार कम्पनी छ। कम्पनीको करिब २७ करोड रूपैयाँको कारोबार भएको छ।
