मंसिर १५
डडेल्धुरामा खाद्यबालीको बीउ उत्पादन र प्रमाणीकरण प्रक्रियालाई व्यवस्थित बनाउन किसान तथा व्यापारीलाई तीनदिने तालिम दिइएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराले आयोजना गरेको तालिम आइतबार सम्पन्न भएको हो । तालिममा किसान, एग्रोभेट सञ्चालक तथा प्राविधिक सहभागी थिए ।
जिल्लामा आलुसहित विभिन्न खाद्यबालीका बीउ उत्पादन हुँदै आए पनि विगतमा गुणस्तर परीक्षण र कानुनी प्रमाणीकरण नगरी नै बिक्री वितरण हुँदै आएको थियो । ‘अबदेखि बीउ कानुनी तथा वैज्ञानिक मापदण्ड पूरा गरेर मात्र कारोबार गर्न सकियोस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो,’ कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पीताम्बर बस्नेतले बताए ।
बस्नेतका अनुसार बीउ प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया, गुणस्तरका आधार, किसानले तयार गर्नुपर्ने कागजात, नमुना परीक्षण विधि लगायत विषयमा तालिममा प्रस्टीकरण गरिएको थियो । खाद्यबालीका बीउमा प्रमाणीकरण ९ट्याग० अनिवार्य हुने भएकाले यसबारे किसानलाई स्पष्ट बनाउन यो तालिम अत्यन्तै महत्त्वपूर्ण भएको उनले बताए ।
बीउ विजन गुणस्तर नियन्त्रण कार्यालय ललितपुर तथा बीउ विजन प्रयोगशाला कञ्चनपुरको प्राविधिकको सहजीकरणमा सञ्चालन भएको तालिममा डडेल्धुराका २४ र बझाङका एक गरी २५ जना किसान सहभागी थिए । तालिमपछि लिइएको परीक्षामा सबै सहभागी उत्तीर्ण भएका छन् ।
बीउ–विजन प्रयोगशाला कञ्चनपुरका कृषि अधिकृत दीपकराज ओझाले आलुको बीउ प्रमाणीकरण गरेर त्यसलाई कानुनी आधारमा बिक्री वितरण गर्न बाटो खुल्ने बताए ।
डडेल्धुरा आलु उत्पादनका हिसाबले सुदूरपश्चिमका अग्रणी जिल्लामध्ये एक हो । गत वर्ष जिल्लामा ७१ करोड रुपैयाँभन्दा बढीको आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । जिल्लामा दुई सिजनमा आलु खेती गरिन्छ । बर्खे आलु ४ सय हेक्टर र हिउँदे आलु ७ सय २२ हेक्टर जमिनमा लगाइने गरिएको छ ।
