पुस १५
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । बंगलादेश राष्ट्रवादी पार्टीको मिडिया सेलले आज (३० डिसेम्बर) बिहान जियाको मृत्युबारे फेसबुकमार्फत जानकारी दिएको छ ।
बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)ले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे, फज्रको नमाजपछि निधन भयो ।’
खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षको प्रवासपछि यही डिसेम्बर २५ का दिन लन्डनबाट ढाका फर्किएका थिए । फर्केको पाँच दिनपछि उनकी आमा खालिदा जियाले अन्तिम सास फेरिन् ।
चार दशकभन्दा बढी समयदेखि बंगलादेशी राजनीतिमा संलग्न जिया लामो समयदेखि अस्वस्थताका कारण ढाकाको एभरकेयर अस्पतालमा उपचाररत थिइन् । आफ्ना पति जियाउर रहमानको हत्यापछि जियाले बीएनपीको नेतृत्व सम्हालेकी थिइन् । सन् १९८१ मा रहमान बंगलादेशका राष्ट्रपति थिए र त्यतिबेला उनको हत्या भएको थियो ।
बेगम जिया सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । जियाले सन् २०२४ मा तत्कालिन प्रधानमन्त्री शेख हसिनाविरुद्ध सुरु भएको आन्दोलनलाई समर्थन गरेकी थिइन् । हसिना प्रधानमन्त्री हुँदा खालिदा जिया जेलमा थिइन् । जियाका छोरा तारिक रहमानलाई पनि अदालतले धेरै मुद्दामा दोषी ठहराएको थियो, तर मोहम्मद युनुसको अन्तरिम सरकारले खालिदा र उनको छोरालाई निर्दोष ठहर गरेको थियो ।
