टी-२० विश्वकप : पाकिस्तानी मूलका अमेरिकी बलर खानलाई भारतले भिसा दिन अस्विकार गरेको दाबी

पुस ३०
पाकिस्तानी मूलका अमेरिकी तीव्र गतिका बलर अली खानले आफूलाई भारतले भिसा दिन ‘अस्विकार’ गरेको दाबी गरेका छन्।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमा भारतले भिसा नदिएको कुरा लेखेका छन्।

सन् २०२६ को टी-२० विश्वकपको उदघाटनमा फेब्रुअरी ७ मा मुम्बईमा अमेरिका र भारतबीच खेल हुँदैछ।

अहिले अमेरिकाको राष्ट्रिय टोली प्रशिक्षण क्याम्पका लागि श्रीलंकाको कोलम्बोमा छ। प्रशिक्षण टोलीमा रहेका खानले यसबारे थप विस्तृत जानकारी भने दिएका छैनन्।

अमेरिकाले विश्वकपका लागि अन्तिम टोली घोषणा गरिसकेको छैन। तर, अहिले कोलम्बोमा रहेका १८ खेलाडीमध्येबाटै अन्तिम १५ जना छनोट हुने अनुमान गरिएको छ।

‘युएसए क्रिकेट’ निलम्बनमा रहेका कारण टोलीको व्यवस्थापन र अन्य प्राविधिक कामहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले हेरिरहेको छ।

अमेरिकाको टोलीमा खानबाहेक एहसान आदिल र मोहम्मद मोहसिन पनि पाकिस्तानी मूलका खेलाडी हुन्। आइसिसीले यसबारे कुनै आधिकारिक धारणा नदिए पनि यो समस्या सुल्झनेमा आफूहरू विश्वस्त रहेको बताएको छ।

ओमान, युएई र इटाली जस्ता देशका टोलीमा पनि पाकिस्तानी मूलका खेलाडी धेरै भएकाले उनीहरूले पनि यस घटनालाई नजिकबाट नियालिरहेका छन्।

इंग्ल्याण्डका दुई खेलाडी आदिल रशिद र रेहान अहमदले पनि अहिलेसम्म भारतीय भिसा पाएका छैनन्। उनीहरू दुवै पाकिस्तानी मूलका हुन्। उनीहरूले आफैं उपस्थित भएर भिसा आवेदन दिनुपर्ने भएकाले केही ढिलाइ भएको बताइएको छ।

भारत र पाकिस्तानबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण पाकिस्तानी मूलका खेलाडीहरूलाई भिसा पाउन सधैं मुस्किल हुने गरेको छ। ती खेलाडीसँग अन्य देशकै नागरिकता भए पनि भारतले पाकिस्तानी मूलका खेलाडीलाई भिसा दिन कडाइ गरिरहेको छ।

यसअघि अष्ट्रेलियाका उस्मान ख्वाजा र इंग्ल्याण्डका सोयब बसिरले पनि यस्तै झन्झट बेहोर्नुपरेको थियो। सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि पाकिस्तानको पुरै टोलीको भिसा ढिलो गरी आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply