राप्ती नदीमा बन्दै पुल : गुणस्तर र दिगोपनमा ध्यान दिन स्थानीयको सुझाव

कृष्ण केसी, माघ १०
बाँके – राप्ती गाउँपालिका र डुडवा गाउँपालिकालाई जोड्ने उद्देश्यले राप्ती नदीमाथि निर्माण भइरहेको पुलको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। राप्ती गाउँपालिका–६ क्षेत्रमा निर्माणाधीन उक्त पुल सम्पन्न भएपछि दुई पालिकाबीचको आवागमन सहज भई शिक्षा, स्वास्थ्य, व्यापार तथा आपतकालीन सेवामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

वर्षायाममा नदी तर्नुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय बासिन्दा पुल निर्माणप्रति उत्साहित देखिएका छन्। विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा पुललाई लिँदै उनीहरूले यसलाई क्षेत्रका लागि सौभाग्यको अवसरका रूपमा हेरेका छन्।

तर, उत्साहसँगै विगतको तीतो अनुभवले स्थानीयलाई सचेत बनाएको छ। सरोकारवालाहरूले पुल निर्माणमा गुणस्तर, दिगोपन र प्राविधिक मापदण्डको कडाइ अनिवार्य गर्न राज्य र ठेकेदार पक्षसँग आग्रह गरेका छन्। उनीहरूका अनुसार २०६१ सालतिर निर्माण भएका केही पुलहरू केही वर्ष नपुग्दै भत्किएको पीडा अझै ताजा छ। त्यही गल्ती दोहोरिन नदिन दीर्घकालीन सोच अपरिहार्य रहेको स्थानीयको जोड छ।

हाल पुलको केही लम्बाइमा संरचना निर्माण सम्पन्न भइसकेको छ भने राप्ती सोनारी जोड्ने पूर्वतर्फ भरान कार्य तीव्र रूपमा भइरहेको छ। तर नदीको मुहान क्षेत्रमै ठूलो मात्रामा बालुवा–माटो भरान गरिएको, तल पानी जमेको (तलाउ) अवस्था र माथिबाट गरिँदै आएको भरानले भविष्यमा जोखिम निम्त्याउन सक्ने भन्दै स्थानीयले गम्भीर चासो व्यक्त गरेका छन्।
“पुल छिटो बन्नु राम्रो हो, तर फेरि केही वर्षमै भत्किने हो कि भन्ने डर मनमा छ,” एक स्थानीयले भने, “बरु एक वर्ष ढिलो बने पनि हुन्छ, तर दिगो, दरिलो र मजबुत बनोस्। यो राज्यको सम्पत्ति हो, कमाइ खाने भाँडो नबनोस्।”
स्थानीयवासीका अनुसार राप्ती नदी मात्र होइन, जिल्लाका अन्य स्थानमा पनि विगतमा निर्माण भएका थुप्रै संरचनाहरू केही समयमै टुटफुट भई पुनः निर्माण गर्नुपर्ने अवस्था आएको छ। यसले राज्यको सम्पत्तिको दुरुपयोग भएको अनुभूति गराएको उनीहरूको गुनासो छ।

सम्बन्धित निकायले नियमित अनुगमन, प्राविधिक मापदण्डको कडाइ, प्रयोग हुने माटो तथा निर्माण सामग्रीको गुणस्तर परीक्षण र पारदर्शितासहित काम सम्पन्न गरेमा यो पुल राप्ती–डुडवा क्षेत्रको विकासको बलियो आधार बन्ने स्थानीयको विश्वास छ।

तीव्र गतिमा भइरहेको निर्माणप्रति स्थानीय खुसी छन्, तर मनको कुनामा एउटै साझा चाहना छ—
पुल फेरि भत्काउने होइन, पुस्तौँ टिक्ने गरी बनोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply