माघ २४
काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र आएको परिवर्तनको सन्देश तल्लो तहसम्म पुर्याउँदै अब देश रूपान्तरणको अभियानमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन्।
नेपाली कांग्रेस काठमाडौं–५ ले आयोजना गरेको सदस्य भेलालाई सम्बोधन गर्दै सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनपछि कांग्रेसले आत्मसमीक्षा गर्दै आफूलाई नयाँ ढंगले रूपान्तरण गरेको स्पष्ट पारे। कांग्रेस अब केवल सत्ता होइन, नागरिकको भरोसाको पार्टी बन्ने यात्रामा रहेको उनको भनाइ थियो।
“विगतमा कांग्रेससँग असन्तुष्ट भएका नागरिकलाई कांग्रेस बदलिएको छ भन्ने सन्देश घर–घरमै पुर्याउनुपर्छ,” सभापति थापाले भने, “हिजो कांग्रेसलाई मत दिएका २७ लाख मतदातासँग संवाद गर्नुपर्छ, विशेषगरी जेनजीका कुरा ध्यान दिएर सुन्नुपर्छ।”
उनले जेनजीको आवाज सडकबाटै सुनेर आफूलाई परिवर्तन गर्न सक्ने एक मात्र पार्टी कांग्रेस भएको सन्देश लिएर कार्यकर्ताहरू जनतामाझ जानुपर्ने बताए। “माघको अधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस हो,” भन्दै उनले अब गुट–उपगुटको राजनीति समाप्त भइसकेको उल्लेख गरे।
नागरिक किन रिसाए, कहाँ कमजोरी भयो भन्ने कुरालाई नलुकाई सामना गरिएको र सोही आधारमा अधिवेशनमार्फत नयाँ नेतृत्व आएको उनको भनाइ थियो। “यहाँ कसैले हारेको छैन, सबैले जितेका छौं। अब पक्ष–विपक्षको अध्याय बन्द भयो, हामी सबै एक ठाउँमा छौं,” सभापति थापाले दृढतापूर्वक भने।
देशमा मौलाउँदै गएको भागबण्डा र भ्रष्टाचारको अन्त्यका लागि कांग्रेस सशक्त रूपमा उभिने दाबी गर्दै उनले सामाजिक सञ्जालमार्फत पनि नयाँ कांग्रेसको सन्देश फैलाउन कार्यकर्तालाई आग्रह गरे।
प्रदीप पौडेल : ‘जिम्मेवार विद्रोही’ को उदाहरण
सभापति थापाले कांग्रेस महामन्त्री प्रदीप पौडेललाई ‘जिम्मेवार विद्रोही’ को संज्ञा दिँदै पार्टी र सरकार दुवैमा उनको भूमिकाको खुलेर प्रशंसा गरे।
भाद्र २३ गतेको आन्दोलनका क्रममा युवाको आवाज प्रधानमन्त्रीसम्म पुर्याउन क्याबिनेटमै दृढतापूर्वक प्रश्न उठाउने व्यक्ति महामन्त्री पौडेल नै भएको उनले स्मरण गरे। “त्यो दिन प्रधानमन्त्रीको क्याबिनेटमा युवा आवाज सुन्नुपर्छ भनेर झगडा गर्ने मान्छे प्रदीप पौडेल हो,” सभापति थापाले भने।
मन्त्रीका रूपमा रहँदा स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न उनले इमान्दार प्रयास गरेको तर अपेक्षित सहयोग नपाउँदा छटपटिएको दृश्य आफूले नजिकबाट देखेको थापाले बताए। सरकारमा रहेर गरेको इमान्दार प्रयास र पार्टीलाई नयाँ बनाउने अभियानमा महामन्त्री पौडेलको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे।
समुन्नत नेपाल निर्माणका लागि संसद र सरकार दुवैमा प्रदीप पौडेलको आवश्यकता रहेकोमा जोड दिँदै सभापति थापाले कांग्रेस अब नयाँ सोच, नयाँ ऊर्जा र नयाँ नेतृत्वसहित अघि बढिरहेको सन्देश स्पष्ट पारे।
