काठमाडौँ, माघ २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण गर्दा अनियमितता गरेको अभियोगमा तीनजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
वैदेशिक रोजगारीमा रहेका व्यक्ति र प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित भएका १८ जनालाई नियमविपरीत अनुमतिपत्र प्रदान गरेको उजुरीमाथि अनुसन्धान हुँदा भ्रष्टाचार भएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७५/७६ मा प्रयोगात्मक परीक्षाको नतिजामा अनुत्तीर्ण र अनुपस्थित जनाइएका व्यक्तिहरूका नाममा ‘ए’ र ‘ई’ वर्गको सवारी चालक अनुमतिपत्र जारी गरिएको भेटिएको छ।
विशेष गरी वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका शालिकराम भण्डारीका नाममा उनी विदेशमै रहेको समयमा लिखित तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गराई अनुमतिपत्र जारी गरेको देखिएको आयोगले जनाएको छ। भण्डारी २०७० भदौ १९ गते मलेसिया गएर २०७५ भदौ २३ गते मात्र नेपाल फर्केका थिए।
आरोपपत्रमा यातायात व्यवस्था कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदनप्रसाद देवकोटा, परीक्षा समितिका सदस्य प्रहरी नायब निरीक्षक गङ्गाराम विश्वकर्मा र मेकानिकल सुपरभाइजर शम्भु दाहाललाई प्रतिवादी बनाइएको छ।
उनीहरूले प्रयोगात्मक परीक्षाको कम्प्युटर प्रविष्टिमा ‘एडिट’ गरी नतिजा सच्याएर अनुमतिपत्र जारी गराएको पुष्टि भएको छ।
यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखाको प्राविधिक विश्लेषणअनुसार निमित्त कार्यालय प्रमुख देवकोटाको ‘यूजर आईडी’ ४६७ प्रयोग गरी विवरण थपघट गरिएको पाइएको छ। प्रतिवादीहरूले गैरकानुनी लाभ पुर्याउने वदनियतले सरकारी अभिलेखमा परीक्षाको परिणाम अनधिकृत रूपमा सच्याउने र फेरबदल गर्ने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र १३ बमोजिमको कसुर गरेकोले कैद र जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।
