माघ २८, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सक्रिय भूमिका खेल्न निर्देशन दिनुभएको छ। बुधबार महाराजगञ्जस्थित देउवा निवासमा भएको भेटघाटमा उहाँले लोकतन्त्र सुदृढीकरणका लागि सबै नेता–कार्यकर्ता पूर्ण रूपमा समर्पित हुनुपर्नेमा जोड दिनुभयो।
सभापति देउवाले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गर्नुभयो। साथै, नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन संगठित र सक्रिय रूपमा लाग्न पनि निर्देशन दिनुभयो।
उक्त अवसरमा नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेट भएको थियो। भेटका क्रममा सभापति देउवा र डा. राणा देउवाले मुख्यमन्त्री शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो।
नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र संस्थागत मजबुतीलाई प्राथमिकतामा राख्दै आगामी निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन प्रतिबद्धता दोहोर्याएको छ।
