जीवछ यादव
लहान, फागुन ४ गते । लगभग सतप्रतिशत सुकुम्वासी रहेका लहानका मुसहर समुदायले आसन्न प्रतिनिधिसभा निर्वाचनमा शौचालयसहितको सुरक्षित आवासको माग अघि सारेका छन्।
नहरको किनारमा बसोवास गर्दै आएका लहान–२ का गणपतिया सदायले वर्षायाममा बाढीले बगाउने डर र गर्मीयाममा नहरको फोहोरका कारण बस्नै कठिन हुने अवस्था रहेको बताउनुभयो। “घर बनाउन घडेरी छैन। यस सङ्कटपूर्ण जीवनबाट आउने पुस्ता कसरी मुक्त हुन्छ भन्ने चिन्ता सधैं मनमा खेलिरहन्छ,” उहाँले पीडा व्यक्त गर्नुभयो।
यो समस्या गणपतिया सदायको मात्र नभई लहान वडा नम्बर १ र २ मा बसोवास गर्ने करिब तीन सय परिवारको साझा पीडा हो। मुसहर समुदायका अगुवा सोनिया सदायले भन्नुभयो, “यो आठौँ प्रतिनिधिसभा निर्वाचन हो। शौचालयसहित सुरक्षित आवासको ग्यारेन्टी गर्ने दललाई नै मत दिने निर्णयमा हामी पुगेका छौँ।”
अर्का स्थानीय गेना सदायले भन्नुभयो, “यसपटक दारु–भोज चाहिँदैन, सुरक्षित आवास चाहियो। एउटै सानो घरमा आमा–छोरा, सासू–ससुरा उकुसमुकुस भएर बस्नुपरेको छ। आश्वासन होइन, आवासको ग्यारेन्टी चाहिन्छ। हामी यही मागमा अडिग छौँ।”
भूमिहीन समस्या समाधान आयोग, सिराहाका सदस्य राजेन्द्र साहका अनुसार भूमिहीनलाई घर बनाउन जग्गा व्यवस्थापनका लागि सिराहाका १७ वटै स्थानीय तहसँग पटक–पटक पहल गरिए पनि अपेक्षित चासो नपाइएको छ। उहाँले ऐलानी, पर्ती तथा नदीकिनारका असुरक्षित बस्तीको समस्या समाधानका लागि तीनै तहका सरकारबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।
दलित जनकल्याण युवा क्लबका अध्यक्ष उमेश विसुन्केले मतदातामा बढ्दो सचेतना र विश्वसनीय घोषणापत्रको खोजी सकारात्मक पक्ष भएको उल्लेख गर्दै मुसहर समुदायका माग जायज रहेको बताउनुभयो। “लहान नगरपालिकामा झन्डै २० हजार दलितको बसोवास छ, जसमा ९० प्रतिशतभन्दा बढी भूमिहीन छन्। सुकुम्वासी समस्या समाधान यसपटकको निर्वाचनमा प्राथमिकतामा आउनै पर्छ,” उहाँले भन्नुभयो।
विकन परियोजनाका निर्देशक कविन्द्र पुडासैनीका अनुसार लहानमा चार हजार २०१ परिवारमा शौचालय नहुनुको प्रमुख कारण जग्गा अभाव हो। मुसहर बस्तीमा सुरक्षित आवास र शौचालयको व्यवस्था दलहरूको घोषणापत्रमा समावेश हुनुपर्ने उहाँको भनाइ छ। गोरखापत्र
