काठमाडौँ, फागुन ४ गते । गण्डकी प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगितामा सोमबार दोहोरो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार देखि सुरु भएको प्रतियोगिातमा गण्डकी पुरुष/महिला दुवैमा विजयी भयो ।
महिलातर्फ गण्डकीले बागतमी प्रदेशलाई ४–० गोलले हरायो । गण्डकीकी ‘प्लेयर अफ दि म्याच’ अंकिता अधिकारीले दुई तथा गीता पुनमगर र सीतामाया बलले समान एक एक गोल गर्नुभयो ।
नेपाल हक्की सङ्घले आयोजना गरेको प्रतियोगिताको पुरुषमा गण्डकीले कोशी प्रदेशलाई २–० गोलले हरायो । गण्डकीका लागि ‘प्लेयर अफ दि म्याच’ अशिम बहिकले दुवै गोल गर्नुभयो ।
यस्तै महिलामा मधेश प्रदेशले कोशीलाई १–० गोलले पाखा लगायो । प्रीति दासले निर्णायक गोल गर्नुभयो । लक्ष्मनीयाकुमारी दास ‘प्लेयर अफ दि म्याच’ बन्नुभयो ।
प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा पाँच टोलीको सहभागिता रहेको छ । जसमा पुरुषतर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब सहभागि छन् । यस्तै महिलामा गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम र बागमती प्रदेश रहेको छ ।
पुरुषमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने र महिलातर्फ राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टोलीले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपियाँ पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीलाई पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई दुई हजार रुपियाँ प्रदान गरिने सङ्घले जनाएको छ ।
