ग्यास अभावको बहानामा कालोबजारी

फागुन २६
सिरहा जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् ।

लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो’, उनले भनेका छन्, ‘निर्धारित मूल्यमा दुई सिलिन्डरको तीन हजार ८२० रुपैयाँ पर्नुपर्ने हो । नौ हजार रुपैयाँ भनेपछि कसरी तिर्नु ? त्यसपछि रित्तै हात फर्किनुपऱ्यो ।’

सिरहा नगरपालिका–६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएका प्रमोद यादवले पनि निर्धारण गरिएको मूल्यमा ग्यास नपाउँदा व्यवसाय चलाउन कठिन भएको बताउनुभयो । ‘सिलिन्डर किन्दा चार हजार ५०० रुपैयाँ तिर्नुपर्छ, त्यति महँगोमा किनेर कसरी खर्च धान्नु ? अब खाना पनि खान नसकिने अवस्था आउला कि भन्ने चिन्ता बढेको छ’, उनको दुखेसो छ ।

खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँ रहेको छ । तर बजारमा भने त्यसको दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ता अधिकारकर्मीले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुनसक्ने भन्दै सम्बन्धित निकायलाई तुरुन्त अनुगमन गर्न आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले कालोबजारी गर्नेविरुद्ध कारबाही गरिने चेतावनी दिएको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

कालोबजारी कानुनविपरीत काम भएकाले कोही दोषी पाइए कारबाही हुने उल्लेख गर्दै उनले भनेका छन्, ‘हामी वाणिज्य कार्यालय र सम्बन्धित निकायसँग समन्वय गरेर बजार अनुगमन गर्नेछौँ, कालोबजारी गरेको पाइए कानुनबमोजिम कारबाही हुन्छ ।’

नेपाल आयल निगमका स्थानीय वितरकहरूले ढुवानी र आपूर्ति व्यवस्थापनमा समस्या हुनुका साथै निर्वाचनका कारण तीन दिन सिमाना बन्द गरिनु उपभोक्ताहरूले पनि ग्यास भण्डारण गरेर राख्नुलगायत कारणले बजारमा अभाव देखिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply