चैत ५
अध्यागमन विभागले पर्यटकीयमा भिसामा नेपाल आएका विदेशलाई कुनै पनि खेलमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको छ।
पर्यटक भिसामा रहेका खेलाडीलाई नियमविपरित खेलाइएको पाइएमा कारबाही गर्ने पनि विभागले चेतावनी दिएको छ।
पर्यटन भिसामा रहेका विभिन्न देशका खेलाडीले एन्फाले सञ्चालन गरिरहेको राष्ट्रिय महिला तथा पुरूष लिगमा सहभागी भएर खेलेको उजुरी परेपछि विभागले एन्फालाई पत्राचार गरेको हो।
‘अध्यागमन नियमावली, २०५१ को नियम २० मा भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सो बाहेक अन्य काम गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था रहेको व्यहोरा विदितै छ,’ विभागले लेखेको पत्रमा भनिएको छ, ‘त्यस संघबाट सञ्चालन भएको राष्ट्रिय महिला/पुरूष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजूरी यस विभागमा प्राप्त हुन आएको छ।’
विभागले विदेशी खेलाडीलाई खेलाउनु पर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध समेत गरेको छ।
पर्यटक भिसामा आएका खेलाडीले राष्ट्रिय लिग खेलेको जानकारी प्राप्त भएपछि यो विषयमा अनुगमन थालिएको पनि विभागको भनाइ छ।
‘यस विभागबाट आजैदेखि अनुगमन प्रारम्भ भएको हुँदा स्वीकृति नलिएका विदेशी खेलाडीहरू भिसाको उद्देश्य विपरित कुनै पनि खेलमा सहभागी भएको पाईएमा तत्काल कार्वाही अगाडि बढाईने व्यहोरा निर्णयानुसार जानकारी गराईन्छ,’ विभागले भनेको छ।
