चैत ८
नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरो ले पछिल्लो समय बढ्दै गएको WhatsApp ह्याकिङ तथा अनलाइन ठगीका घटनाप्रति सचेत रहन सर्वसाधारणलाई महत्वपूर्ण अनुरोध गरेको छ। “म समस्या/अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्” जस्ता भावनात्मक सन्देशमार्फत ठगी गर्ने गिरोह सक्रिय बन्दै गएकाले नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो।
ब्यूरोका अनुसार, ठगीका नयाँ तरिकाहरू प्रयोग गरी आफन्त वा चिनजानकै व्यक्तिको WhatsApp ह्याक गरेर पैसा माग्ने प्रवृत्ति बढेको देखिएको छ। यसलाई नियन्त्रण गर्न तथा नागरिकलाई सुरक्षित राख्न विभिन्न सचेतनामूलक उपायहरू सार्वजनिक गरिएको छ।
साइबर सुरक्षाका लागि नागरिकले अपनाउनुपर्ने प्रमुख उपायहरूमा शंकास्पद सन्देशमा तुरुन्त विश्वास नगर्ने, सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष फोनमार्फत पुष्टि गर्ने, अनावश्यक लिंक वा फाइल क्लिक नगर्ने, तथा Two-Step Verification अनिवार्य प्रयोग गर्ने समावेश छन्। साथै OTP वा Verification Code कसैलाई पनि नदिनु, मोबाइल तथा एप्स नियमित अपडेट गर्ने र WhatsApp Web प्रयोगपछि अनिवार्य Log out गर्ने जस्ता सावधानी अपनाउन पनि आग्रह गरिएको छ।
साइबर ब्यूरोका प्रवक्ता दिपक राज अवस्थी ले डिजिटल प्रविधिको सुरक्षित प्रयोग नै यस्ता अपराध न्यूनीकरणको प्रमुख उपाय भएको बताउँदै सबैलाई सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभएको छ।
यस पहलले साइबर अपराध नियन्त्रणमा मात्र होइन, डिजिटल सचेतना अभिवृद्धि गर्दै सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
