चैत २३ धनगढी — Mahindra & Mahindra ले सुदूरपश्चिममा आफ्नो कमर्सियल सवारी लाइनअप विस्तार गर्दै २-टन क्षमताको नयाँ ‘बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ। नेपालको आधिकारिक वितरक Agni Incorporated Pvt. Ltd. ले धनगढीस्थित शोरुममा विशेष कार्यक्रम आयोजना गरी गाडी सार्वजनिक गरेको हो।

नयाँ पिक-अप ‘HD 1.7 LX’ र ‘HD 2.0L SXi’ दुई भेरियन्टमा उपलब्ध हुनेछन्। कम्पनीका अनुसार HD 1.7 LX को सुरुआती मूल्य २९ लाख १५ हजार रुपैयाँ तोकिएको छ भने HD 2.0L SXi को मूल्य ३२ लाख १५ हजार रुपैयाँबाट सुरु हुन्छ।
यो पिक-अप विशेषगरी ग्रामीण तथा दुर्गम भू–भागलाई लक्षित गरी डिजाइन गरिएको बताइएको छ। बलियो च्यासिस, उच्च भार वहन क्षमता र सहज ड्राइभिङ अनुभवका कारण कृषि, निर्माण तथा साना ढुवानी व्यवसायमा यसको उपयोगिता उच्च रहने कम्पनीको दाबी छ।

HD 2.0L SXi भेरियन्टमा १० फिट लामो कार्गो बेड र २-टन क्षमता रहेको छ भने HD 1.7 LX मा १.७ टन क्षमता र ९ फिट कार्गो बेड उपलब्ध छ। दुवै मोडेलमा उन्नत m2Di इन्जिन जडान गरिएको छ, जसले पर्फर्मेन्स र टिकाउपनमा थप भरोसा दिने विश्वास गरिएको छ।
महिन्द्राले यस नयाँ मोडलमार्फत नेपाली कमर्सियल सवारी बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ।

