दैनिक ४० हजार लाइसेन्स छापिँदै, साउनदेखि २४ घन्टाभित्रै लाइसेन्स दिने तयारी

चैत २४
सरकारको १०० दिने शासकीय सुधार कार्यसूची सार्वजनिक भएपछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा अघि बढाइएको छ।

विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार पछिल्लो एक सातादेखि दैनिक ४० हजार लाइसेन्स छाप्ने काम भइरहेको छ। यसअघि दैनिक २ हजारदेखि २ हजार ५ सय लाइसेन्स छापिन्थ्यो।

‘हामी दिनरात नभनी सरकारको निर्णय कार्यान्वयन गर्न खटिएका छौं,’ उनले मंगलबार सेतोपाटीसँग भने, ‘सेवाग्राहीहरूको लाइसेन्स प्राप्त गर्ने झन्झट अन्त्य गर्ने प्रयास जारी छ।’

जेनजी आन्दोलनमा यातायात कार्यालयमा भएको आगजनीपछि कात्तिक १२ गते सुरक्षण मुद्रण केन्द्रसँग १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो। सम्झौता अनुसार केन्द्रले ६ महिनाभित्र उक्त लाइसेन्स छापेर दिने भनिएको थियो।

यसबीच सुरक्षण मुद्रण केन्द्रले ३ लाख लाइसेन्स छापेर पठाएको र त्यो सम्बन्धित जिल्लाहरूमा पुर्‍याइसकिएको खतिवडाले जानकारी दिए।

आगामी दिनका लागि नयाँ लाइसेन्स बाँड्न विभागले थप छपाइको अर्डर पनि गरिरहेको छ। केही समयअघि एक लाख नयाँ लाइसेन्स छाप्न अर्डर गरिएको थियो भने मंगलबार मात्रै ३ लाख ९७ हजार लाइसेन्स प्रिन्ट गर्न विवरण पठाउने तयारी भइरहेको उनले बताए।

‘पछिल्लो तीन दिनदेखि रातभरि बसेर विवरण संकलन गरी आज ३ लाख ९७ हजार नयाँ लाइसेन्स प्रिन्ट गर्न पठाउन लागेका छौं,’ खतिवडाले भने, ‘मुद्रण केन्द्रले अब दैनिक ४० हजारका दरले नयाँ लाइसेन्स छापेर पठाउने भन्नुभएको छ।’

केन्द्रले वैशाख महिनाभित्र सम्झौता अनुसार १२ लाख लाइसेन्स छापेर पठाउने प्रतिबद्धता गरेको उनले बताए।

विभागका अनुसार कात्तिकसम्म छाप्न बाँकी लाइसेन्स २७ लाख थियो भने अहिले करिब ३० लाख पुग्न लागेको छ। बाँकी लाइसेन्स समयमै वितरण गर्न छपाइ कार्य तीव्र पारिएको उनले जानकारी दिए।

‘पुरानो लाइसेन्स बाँडिसकेपछि काम सहज हुन्छ,’ उनले भने, ‘साउनदेखि सेवाग्राहीले राजस्व तिरेको २४ घन्टाभित्रै लाइसेन्स उपलब्ध गराउने तयारी छ।’

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले जारी गरेको शासकीय सुधारका १०० कार्यसूचीमा ‘१०० दिनभित्र लाइसेन्स घर–घरमै पुर्‍याउने’ भनिएको छ। यसका लागि हुलाक सेवालाई आधुनिकीकरण गर्ने कार्यसूचीमा उल्लेख छ।

सरकारको उक्त निर्णय कार्यान्वयन गर्न कर्मचारीहरू दिनरात लागिपरेका छन्।

‘हामी ट्रायल पास भएर राजस्व तिर्नासाथ तत्काल विवरण पठाएर २४ घन्टाभित्र लाइसेन्स दिनसक्ने प्रविधि बनाउने प्रयासमा छौं। यसका लागि नयाँ सफ्टवेयर बनाउने तयारी हुँदैछ। सोचेजस्तो भए २४ घन्टादेखि दुई दिनभित्र लाइसेन्स दिन सकिन्छ,’ उनले भने, ‘छिटोभन्दा छिटो लाइसेन्स वितरण गर्न हामी कुनै कसर बाँकी छाड्ने छैनौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply