गुणस्तरीय जीवनतर्फ सुदूरपश्चिमको लक्ष्य : दोस्रो पञ्चवर्षीय योजनामा व्यापक रणनीति

चैत्र २८, कैलाली
सुदूरपश्चिम प्रदेश सरकारले आगामी पाँच वर्षका लागि विकासको स्पष्ट रोडम्याप तयार गर्ने क्रममा दोस्रो पञ्चवर्षीय योजना (२०८३/०८४–२०८७/०८८) को मस्यौदालाई अघि बढाएको छ। प्रदेशवासीको जीवनस्तर गुणस्तरीय बनाउने मूल लक्ष्यसहित तयार गरिएको मस्यौदामा आर्थिक, सामाजिक र पूर्वाधार विकासका बहुआयामिक रणनीतिहरू समेटिएका छन्।

धनगढीमा आयोजित कार्यशाला गोष्ठीमा प्रदेश सभा सदस्यहरूबाट सुझाव संकलन गर्दै योजना मस्यौदालाई थप परिमार्जन गर्ने प्रयास गरिएको छ। गोष्ठी प्रदेश नीति तथा योजना आयोग को आयोजनामा सम्पन्न भएको हो।

योजनाको प्राथमिकता उत्पादन र उत्पादकत्व वृद्धि गर्दै गरिबी न्यूनीकरण, रोजगारी सिर्जना तथा आयस्तर उकास्ने रहेको छ। त्यस्तै, दिगो पूर्वाधार विकास, सहज स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, सामाजिक सुरक्षा र जलवायु अनुकूलनलाई समेत उच्च महत्व दिइएको छ। सूचना प्रविधिमा आधारित पारदर्शी र उत्तरदायी सेवा प्रवाहमार्फत सुशासन प्रवर्द्धन गर्ने लक्ष्य पनि योजनामा समावेश छ।

मस्यौदाले कृषि, पर्यटन, उद्योग तथा उद्यमशीलता क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख आधार मान्दै मूल्य श्रृङ्खला विकास र लगानी प्रवर्द्धनमा जोड दिएको छ। साथै, यातायात, ऊर्जा, सिंचाइ, खानेपानी र डिजिटल पूर्वाधार विस्तारमार्फत सन्तुलित क्षेत्रीय विकास सुनिश्चित गर्ने रणनीति अघि सारिएको छ।

कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरूले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने, बजेट विनियोजन प्राथमिकताका आधारमा गर्नुपर्ने र प्रदेश गौरवका योजनाहरू प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन्।

कार्यशालाको अध्यक्षता गरेका मुख्यमन्त्री कमलबहादुर शाह ले प्रदेशको समग्र विकासका लागि सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। उनले स्वास्थ्य क्षेत्रमा निर्माण भएका संरचनाहरूलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।

यही क्रममा मुख्यमन्त्री शाहले पारदर्शिता अभिवृद्धिका लागि मन्त्री, सांसद र कर्मचारीहरूको भ्रमण आदेश सार्वजनिक गर्न निर्देशन दिएका छन्। उनले प्रमुख सचिव बैकुण्ठ अर्याल लाई यस विषयमा आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

कार्यक्रममा डा. जीवन राना ले योजनाको उद्देश्यबारे प्रकाश पार्दै समावेशी र दिगो विकासलाई केन्द्रमा राखिएको बताए।

प्रदेश सरकारले तयार गरिरहेको यो योजना आगामी वर्षहरूमा सुदूरपश्चिमको आर्थिक रूपान्तरण र समृद्धिको आधार बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply