अचाक्ली बढ्यो केराको भाउ

काठमाडौँ, वैशाख ६ गते । पछिल्लो समयमा उपत्यकाका बजारमा केराको मूल्य गत वर्षभन्दा झन्डै दोब्बरले बढेको छ । गत वर्ष यो बेलामा प्रतिदर्जन औसत १२० देखि १५० रुपियाँ थोकमा पाइने केराको मूल्य अहिले बढेर प्रतिदर्जन तीन सयदेखि ३५० रुपियाँ पुगेको नेपाल फलफूल व्यवसायी सङ्घले जनाएको छ । खुद्रा बजारमा केराको मूल्य अझै उच्च छ ।

खुद्रा बजारमा केराको मूल्य प्रतिदर्जन तीन सय रुपियाँदेखि ३५० रुपियाँसम्म बिक्री भइरहेको छ । आमनेपाली उपभोक्ताले उपभोग गर्न सक्ने मूल्यमा पाइने केरा यस पटक सर्वसाधारण उपभोक्ताको हैसियतले नभ्याउने गरी मूल्यवृद्धि भएको छ ।

कालीमाटीको फलफूल बजारमा आमा औँसीका लागि फलफूल किन्ने क्रममा भेटिएकी प्रतिभा चापागाईं केराको मूल्य सुनेरै नकिनी फर्किनुभयो । केराको मूल्य अत्यधिक बढेपछि उहाँले त्यसको साटो मेवा र अनार किनेको बताउनुभयो ।

सङ्घका अध्यक्ष अम्बर बानियाँले पछिल्लो समय भारतीय केरामा प्रतिबन्ध लगाइएकाले मूल्य बढेको बताउनुुभयो । उहाँका अनुसार उपत्यका बजारमा यो बेला हुने मागको २५÷३० प्रतिशत मात्रै केराको आपूर्ति भएकाले केरा महँगो भएको हो । नेपालमा उत्पादन हुने केराले असोजदेखि मङ्सिरसम्म धान्ने गरेको भए पनि वर्षभरिको माग धान्ने गरी उत्पादन हुन नसकेको अहिलेको बजारको अवस्थाले देखाएको अध्यक्ष बानियाँको भनाइ छ ।

सरकारले गत असोज २ देखि भारतीय केरामा ‘टिआर–फोर’ नामक रोगको प्रकोप रहेको भन्दै नेपाल ल्याउन रोक लगाएको थियो । त्यसयता वैधानिक माध्यमबाट नेपालमा केरा भित्राउन पाइँदैन तर चोरी बाटो हुँदै भन्सार छलेर भारतीय केरा नेपाली बजारमा आउने क्रम नरोकिएको स्वीकार गर्दै सङ्घका अध्यक्ष बानियाँले भन्नुभयो, “हामीले हाम्रो कुलेश्वर फलफूल बजारभित्र भारतीय केरा बिक्री गर्दैनौँ तर बाहिरी बजारमा अनियन्त्रित मूल्यमा बिक्री भएको छ ।” उहाँले सरकारले वैध बाटोबाट केरा ल्याउन रोकेको कदमले सरकारलाई राजस्व नोक्सान, उपभोक्तालाई महँगीको भारी र बिचौलियालाई राज भएको आरोप लगाउनुभयो ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रोशन अधिकारीले केरामा देखिएको ‘टिआर–फोर’ रोगका कारण गत असोज २ देखि प्रवेश अनुमतिपत्र दिन बन्द गरेको जानकारी दिनुुभयो । उहाँका अनुसार बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ अनुसार बिरुवा तथा बिरुवाजन्य उपज आयात गर्न केन्द्रबाट अनिवार्य रूपमा प्रवेश अनुमति लिनु पर्छ । २०८२ सालमा चितवनको एउटा केरा फार्ममा ‘टिआर–फोर’ रोग देखिएपछि यसको स्रोत पहिचान गर्न अनुमति रोकिएको र यसअघि २०८० सालमा कैलाली र नवलपरासीका केरा फार्ममा पनि यो रोग देखिएर त्यस क्षेत्रका केराका ठुलो परिमाणमा केरा नष्ट गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी अधिकारीले यसप्रकारको रोग केरामा अत्यधिक तीव्र गतिमा फैलिने जोखिमपूर्ण अवस्थालाई ध्यानमा राखेर केराको प्रवेश अनुमतिपत्र दिन बन्द गरेको जानकारी दिनुभयो साथै रोगको उच्च जोखिम र जैविक सुरक्षाका कारण तत्काल अनुमति खुला गर्ने अवस्था नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

चोरी बाटोबाट आएका केरा नियन्त्रण गर्ने जिम्मा नाकामा रहेका भन्सार कार्यालयको हो । ती कार्यालयले कडाइसाथ निगरानी गरिरहेको दाबी गर्दै आएका छन् । केही दिनयता जिल्ला प्रशासन कार्यालयले समेत भारतबाट आएका केरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएका छन् । गत मङ्गलबार मात्रै भक्तपुर जिल्ला प्रशासन कार्यालयले जडीबुटीमा भारतबाट आएका केरा नियन्त्रणमा लिई जफत गर्ने काम गरेको थियो ।

कृषिविज्ञका अनुसार नेपालमा वर्षभरि केरा उत्पादन हुन्छ तर जात अनुसार समय फरक हुन्छ । जिनाइन जातको केरा बाह्रै महिना उत्पादन हुन्छ भने मालभोग वैशाखदेखि भदौसम्म र चिनीचम्पा केरा चैतदेखि जेठसम्म उत्पादन हुन्छ ।

नेपाल केरा उत्पादक महासङ्घले सरकारको पछिल्लो कदमले नयाँ केरा किसान धेरै जन्माएको र नेपाल केरा उत्पादनमा अबको तीन महिनापछि आत्मनिर्भर उन्मुख तथा दुई वर्षपछि निर्यात गर्न सक्ने अवस्थामा हुने जनाएको छ । महासङ्घका तदर्थ समिति अध्यक्ष विष्णुहरि पन्तले हाल नेपालमा केरा उत्पादनतर्फ उत्साह थपिएको जानकारी दिनुभयो ।

वैशाखदेखि साउनको दोस्रो सातासम्म कम उत्पादन भएकाले तुलनात्मक रूपमा महँगो भए पनि त्यसपछिका दिनमा भने नेपाली केरा बजारमा पर्याप्त पाइने दाबी उहाँको छ । सरकारको तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब तीन लाख ८२ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ भने करिब ६० हजार मेट्रिक टन भारतीय केरा आयात हुने गरेको छ ।

यस पटक केरामा नेपाली किसानले राम्रो मूल्य पाए पनि उपभोक्ताले तिर्नुपर्ने मूल्य अपेक्षाभन्दा धेरै भएकोप्रति पनि महासङ्घ सचेत रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मूल्यका विषयमा हरेक जिल्लाका किसानसँग दैनिक जसो छलफल भइरहेको र किसानलाई नोक्सान नहुने तथा उपभोक्तालाई मार नपर्ने खालको मूल्य कायम गर्ने प्रयास गरेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply